Prakash Adhikari December 19, 2024

कीर्तिपुर(काठमाडौं), ४ पौष । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आज भैरहेको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको योगफल तयार गरेको छ ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । विलियम बोसिस्टोले १५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडे । जिशान मक्सुद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । युनिस विक्रमसिंह ठकुरी १२ रन जोडे । खेलमा कप्तान सोमपाल कामी ५ रन बनाए भने नन्दन यादव ४ रनमा नट आउट रहे । अर्जुन घर्ती २ रन बनाए भने अघिल्लो खेलमा अर्धशतक बनाएका जयकिशन कोल्सावाला १ तथा मा आउट भए ।

कर्णाली याक्सलाई रोक्ने क्रममा जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २ तथा हर्ष ठाकर र शेर मल्लले समान १ विकेट लिए ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सामेल हुने अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो ।

कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्ने छ । पराजित एनपीएलबाट बाहिरिने छ ।

लिग चरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो ।

नेपाल प्रिमियर लिगको फाइनल खेल शनिवार हुनेछ ।

Share Now