मूलपानी(काठमाडौँ), ५ पौष । हङकङ १९ विरुद्धको तीन एकदिवसीय श्रृखलामा नेपालले क्लिन गरेको छ ।
शुक्रबार मूलपानी क्रिकेट रंगशालामा नेपालले हङकङमाथि १ सय ३० रनको जित निकालेसंगै श्रृखलामा कब्जा जमाएको हो ।
आजको खेलमा नेपालले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले ४९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।
हङकङका लागि प्रीत मंगुकियाले सर्वाधिक ५५ रन बनाए । कप्तान शिव माथुरले १९ रन बनाउँदा अब्दुल समादले २३ रन बनाए । खेलमा आरेज दारले ८, सायन पुरीले ५, ड्यानियल म्यापले ४, विल वाल्सले ३, तरन लुंगानीले २,म्याथु जेम्स क्लेटनले १ रनको योगदान दिए भने पार्थ श्रीवास्तव र भीर माथुरले खाता खोल्न सकेनन् ।
हंगकंगलाई रोक्ने क्रममा नेपालका लागि अभिशेख तिवारी र अफ्रुदिन राइनले २ । २ विकेट लिए । त्यस्तै राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले १।१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा १० विकेटको क्षतिमा २ सय ६५ रन बनाएको थियो ।
नेपालका लागि सूर्यांशु कोइरालाले सर्वाधिक ६० रन बनाए । त्यस्तै कप्तान अभिशेख तिवारीले ५६ रन बनाउँदा सन्तोष यादवले नटआउट ५३ रन बनाए । खेलमा नरेन भट्टले ३६ रन बनाए । खेलमा निरजकुमार यादवले १४, सोहेल कुँवरले १३, राजेश बोहोराले ११,दिलसाद अलीले ५, सौजन घिमिरे,अफ्रद्दिन राइन र दीपक सेरेलाले १।१ रनको योगदान गरे ।
नेपाललाई रोक्ने क्रममा हङकङका लागि ड्यानियल म्याप, पार्थ श्रीवास्तव, शायन पुरी र प्रीत मंगुकियाले २ । २ विकेट लिए ।


















