Prakash Adhikari December 22, 2024

 

काठमाडौँ, ६ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र वैचारिक र सैद्धान्तिक हस्तक्षेप गर्न आग्रह गर्नुभएको छ ।

राजधानीमा नेपाली कांग्रेसका युवा नेता कैलास कोइराला लिखित शास्त्र उपन्यासको सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली कांग्रेसभित्र पार्टीले अंगीकार गर्नुपर्ने नीति र पार्टीको सिद्धान्तका बारेमा बहस हुन छाडेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “अहिले पार्टीका सबै साथीहरुको ध्यान अधिवेशनमा मात्र केन्द्रित देखिन्छ । अधिवेशन ८२ सालमा हुन्छ कि ८४ सालमा । त्यो अधिवेशनमा म जित्छु कि जित्दिन । हामी त्यतिमा भुलेका छौ ।”

यो पार्टीको स्थापना गर्दा हाम्रा नेताहरुले पार्टीको नेतृत्वमा बन्ने समाजको परिकल्पना गर्नुभएको थियो । त्यति खेर समाज परिवर्तनको खाका थियो । संस्थापक नेताहरुको त्यही परिकल्पना,विचार,संकल्पको कारण आज आठ दशकपछि पनि हामी गर्वले कांग्रेसका कार्यकर्ता भन्न पाएका छौ । त्यसैले पार्टीमा विचारको खाँचो छ । सैद्धान्तिक बहस आवश्यक छ । कैलास कोइरालाले यो क्षेत्रबाट बहस थाल्नुभएको छ ।

महामन्त्री थापाले पार्टीभित्र वैचारिक मन्थनको थालनी पनि गरिएको उल्लेख गर्दै भन्नुभयो,”पार्टीले कार्यकर्ताहरुको क्षमतालाई पनि उजागर गर्ने र थप गतिशिलता ल्याउन गत बर्ष वीपी साहित्य सम्मेलन आयोजना गरियो । यसै बर्ष सुवर्णसमशेर आर्थिक सम्मेलन आयोजना गरिंदै छ । बार्षिक रुपमा एक विषयमा सम्मेलन गर्ने कार्यको थालनी भएको छ ।”

उहाँले शास्त्र उपन्यासबाट लेखक कोइरालाले राज्यको धर्मको बारेमा बहस छेड्नुभएको उल्लेख गर्दै भन्नुभयो,”धर्मको आध्यात्मिक पक्ष नीजि हो र त्यो भिन्न भिन्न हुन्छ । तर धर्मको जुन सामाजिक पक्ष छ, त्यो त सबै धर्मले अंगीकार गरेका छन् । न्याय दिनु पर्यो,समान व्यवहार गर्नु पर्यो । मानव कल्याण गर्नुपर्यो । यो राज्य धर्मलाई उहाँले उपन्यासका भिन्नभिन्न पात्रहरुद्धारा संझाउनुभएको छ ।”

कार्यक्रममा उहाँले वीपीको नाम लिएर उन्मुक्ति लिने चलन बस्न लागेको संकेत गर्दै भन्नुभयो,”हाम्रो पार्टीभित्र कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्‍यो भने बीपीले यस्तो भन्नुभएको थियो भन्ने । बीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने । नेपाली कांग्रेस पार्टीमा म पछिल्लो समय हेर्छु । हाम्रो पार्टीभित्र कयौँ विषयहरु छन् । कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला । कसैलाई के मन नपर्ला । यो त प्रोग्रामका कुराहरु हुन् । धर्मका सन्दर्भमा पनि यो कुरा बढो जोडतोडले आएको छ । बीपीको पार्टी भएर बीपीको बाटो छोड्ने भन्छन् ।” उहाँले पार्टी नेता र कार्यकर्ताहरुलाई विषयको गहिराईमा अध्ययन गरेरमात्र बोल्न सुझाव पनि दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले युवा नेता कोइरालाले नै आफूलाई चितवनको माडीबाट क्रियाशील सदस्यता दिएर चितवनको राजनीतिमा सक्रिय गराएको उल्लेख गदै भन्नुभयो, “शास्त्र व्यवस्थित विज्ञान हो । यसले व्यक्ति,समाज र राज्यलाई व्यवस्थित हुन सिकाउछ । लेखकको यो उपन्यासले व्यक्तिव्यक्तिमा उत्साह जगाउने विश्वास छ ।”

कांग्रेस कोषाध्यक्ष श्रेष्ठले नेपालमा अहिले नेताहरु खराब छन् र नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापित गर्न खोजिएकोमा असन्तुष्टि जनाउदै भन्नुभयो, “म पहिले शिक्षा क्षेत्रमा केही गरौ भनेर लागेको व्यक्ति । नेपालमा पनि अवसर छन् भन्ने देखाउन अहिले बैंकिड. कृषि, पर्यटन(होटल),जलविद्युत,जडिबुटी सबै क्षेत्रमा लगानी गरिरहेको छु । जहाँ पनि अथाह संभावना छ । हामीले युवा आकर्षित गर्ने काम गरौं । सम्बृद्धिको लागि काम गरौं । राजनीतिक सोंच परिवर्तन गरौं । कांग्रेसले काम गर्छ । ८४ को चुनाव जितौं ।”

कार्यक्रममा नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवम् युवा नेता विकास कोइरालाले उपन्यासकार कैलास नयाँ साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएको सन्दर्भ उल्लेख गर्दै हरेक क्षेत्रको यात्रा सुरुमा कठिन हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “राजनीतिक क्षेत्रका असजिलाहरु हामीले देख्यौ, भोग्यौ । साहित्यको यात्रा विवेकशील भएर पूरा गर्नुहुनेछ भन्ने विश्वास छ । साहित्य गहिरो छ ,सागरजस्तै । यसमा शास्त्र छ । धर्म छ ।यौन छ । कथा छ ।वर्तमान अवस्थाको चित्रण छ । देशप्रेम छ । राजनीति छ । यात्रा थालेपछि रोकिनु हुन्न । सगरमाथा चुम्नुस् ।”

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालले उपन्यासको समीक्षा गर्दै परम्परागत मानकलाई भत्काएको यस उपन्यासले व्यक्ति व्यक्तिलाई आफ्नो धर्म अर्थात विचार,आचरण, व्यहार र कर्मप्रति सचेत हुन प्रेरणा दिएको बताउनुभयो ।

अर्का समीक्षक प्राध्यापक कुमार कोइरालाले उपन्यासको विशेषताको चर्चा गर्दै भन्नुभयो, “यसमा पौरुषेय शक्तिको पुनःव्याख्या गरिएको छ । अखण्ड सनातन नेपालको परिकल्पना छ । माओवादी द्धन्द्धपछि युवाहरु विदेश पलायन भएको अवस्थाको चित्रण छ । नेपाल विदेशीको क्रिडास्थल भएकोमा चिन्ता छ । युवाहरुमा देशप्रेम र राष्ट्रवादको भावना विकसित गराउने भावना छ ।”

कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले नेपाल दक्षिण एशियाको सबैभन्दा गरिब राष्ट्र भएकोले वर्तमान शासकीय परिपाटीमा आमूल परिवर्तनको आवश्यकता भएको बताउनुभयो ।

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले मानिसले जीवनमा धर्म,अर्थ,काम र मोक्षको खोजी गर्ने बताउदै उपन्यासकार कोइरालाको शास्त्रले साहित्यको माध्यमबाट राजनीतिक चेत जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार उदय अधिकारीले शास्त्रले “जसको पनि धर्म हुन्छ । राज्यको पनि हुन्छ र व्यक्ति व्यक्तिको पनि । त्यसबाट विमुख हुनुहुँदैन” भन्ने सन्देश दिएको बताउनुभयो ।

लेखक तथा कांग्रेसका युवा नेता कैलास कोइरालाले शास्त्रले “असल नेतृत्वले मात्र देशलाई समृद्धिको मार्गमा डोर्याउन सक्छ । उसमा पनि सत्य,निष्ठा,समर्पण,साधना अनुभव र निरन्तर प्रयासको जरुरत हुन्छ । सही बाटो पहिल्याएर अविच्छिन्न हिड्न सक्षम व्यक्तिले मात्र अरुलाई बाटो देखाएर सही गन्तव्यमा पुर्याउन सक्छ” भन्ने सन्देश दिन खोजको बताउनुभयो ।

 

Share Now