Prakash Adhikari December 25, 2024

-रोबर्ट ग्रेनल र पउल किर्बी । बीबीसी न्यूज

लण्डन(संयुक्त राज्य अमेरिका), १० पौष । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले समग्र ग्रीनल्यान्ड खरिद गर्ने आफ्नो चाहनालाई दोहोर्‍याएपछि डेनमार्कको सरकारले उत्तरी ध्रुवस्थित आफ्नो उक्त भूभागको रक्षा खर्चमा ठूलो वृद्धि गरेको छ।

डेनमार्कका रक्षा मन्त्री ट्रोल्स लुन पाउलसनले उक्त प्याकेज डेनिश मुद्रा क्रोनमा दोहोरो अङ्कको अर्बमा वा कम्तीमा १.५ अर्ब डलर बराबरको भएको उल्लेख गर्नुभयो।

उहाँले उक्त घोषणा गर्नु परेको समयलाई भाग्यको विडम्बनाका रूपमा व्याख्या गरे।

सोमबार ट्रम्पले उक्त विशाल द्वीपमाथिको स्वामित्व र नियन्त्रण अमेरिकाका लागि अपरिहार्य आवश्यकता बनेको बताउनुभएको थियो।

ग्रीनल्यान्ड डेनमार्कको स्वायत्त भूभाग हो र त्यहाँ संयुक्त राज्य अमेरिकाको ठूलो अन्तरिक्ष केन्द्र रहेको छ। अमेरिकाका लागि उक्त भूभागको रणनीतिक महत्त्व छ किनभने त्यो उत्तर अमेरिकाबाट युरोप पुग्ने सबैभन्दा छोटो मार्ग पनि हो। ग्रीनल्यान्डमा प्रमुख खनिजहरूको ठूलो भण्डार छ।

डेनमार्कले ग्रीनल्यान्डमा के केमा लगानी गर्दैछ ?

पाउलसनले आफूले घोषणा गरेको खर्च सम्बन्धी उक्त प्याकेजले दुई वटा नयाँ निगरानी जहाजहरू खरिद गर्न, दुईवटा लामो दुरीका ड्रोनहरू किन्न र बरफ भएको क्षेत्रमा तैनाथ गरिने दुईवटा थप कुकुरसहितको निगरानी टोली स्थापना गर्न सकिने बताउनुभयो।

उक्त बजेटबाट ग्रीनल्यान्डको राजधानी नुकमा अवस्थित आर्कटीक कमान्डको मुख्यालयमा कर्मचारीहरू थपिने र ग्रीनल्यान्डमा रहेको ३ वटा प्रमुख गैरसैनिक विमानस्थलमध्ये एउटाको स्तरोन्नति गरेर त्यसलाई एफ-३५ सुपरसोनिक लडाकु विमान तैनाथ गर्न मिल्ने बनाइने पनि जनाइएको छ।

“हामीले आर्कटिकमा धेरै वर्षसम्म पर्याप्त लगानी गरेका छैनौँ, अहिले हामी उपस्थिति बलियो बनाउने योजनामा छौँ।”

रक्षा मन्त्रीले खर्च गर्न लागिएको रकम खुलाउनुभएको छैन तर डेनमार्कका सञ्चारमाध्यमहरूले त्यो १२ देखि १५ अर्ब क्रोन हुने जनाउनुभएको छ।

ट्रम्पको भनाइको अर्थ

यो घोषणा राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा ग्रीनल्यान्डको स्वामित्व अमेरिकामा रहनु अत्यावश्यक रहेको लेखेपछि आएको हो।

ट्रम्पले लेख्नुभएको थियो, “राष्ट्रिय सुरक्षा र विश्वभरको स्वतन्त्रताका लागि संयुक्त राज्य अमेरिका ग्रीनल्यान्डको स्वामित्व र नियन्त्रण अपरिहार्य आवश्यकता बनेको महसुस गर्छ।”

ग्रीनल्यान्डका प्रधानमन्त्री मुटी एयेदले ट्रम्पको धारणाबारे प्रतिक्रिया दिँदै भन्नुभएको छ, “हामी बिक्रीका लागि उपलब्ध छैनौँ।”

तर उहँले आफूहरू विशेष गरी छिमेकीहरूसँग सहकार्य र व्यापारका लागि खुला रहनुपर्ने बताउनुभयो।

विश्लेषकहरूले प्रतिरक्षा खर्च बढाउने यो योजना लामो समयदेखि छलफलमा रहेको र यसलाई ट्रम्पको धारणाप्रतिको प्रत्यक्ष जवाफका रूपमा हेर्न नहुने बताउनुभयो।

अहिलेसम्म डेनमार्क ग्रीनल्यान्डमा सैन्य क्षमता विस्तार गर्न सुस्त रहँदै आएको थियो। तर विश्लेषकहरूले यदि डेनमार्क त्यहाँको जल क्षेत्रमा चीन र रुसबाट भएका अतिक्रमण रोक्न विफल भएमा उक्त भूभागमाथिको आफ्नो नियन्त्रण थप वृद्धि हुनुपर्ने अमेरिकी माग वृद्धि हुनसक्ने ठान्छन्।

सन् २०१९ मा राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्यान्डको स्वामित्व लिनुपर्ने धारणा राखेपछि त्यहाँका नेताहरूले कडा शब्दमा निन्दा गरेका थिए।

त्यसबेला डेनमार्कका प्रधानमन्त्री मेड फ्रेड्रिक्सनले उक्त अवधारणालाई बकवास भन्नुभएको थियो। त्यसपछि डेनमार्कमा हुने भनिएको ट्रम्पको भ्रमण नै रद्द भएको थियो।

ग्रीनल्यान्ड अमेरिकाले खरिद गर्नुपर्ने धारणा राख्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्न। सन् १८६० को दशकमा राष्ट्रपति एन्ड्रयु जनसनको पालामा सबैभन्दा पहिला यो अवधारणा बाहिर आएको थियो।

Share Now