Prakash Adhikari December 27, 2024

म्याग्दी, १२ पुसः करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो ।

“बेनी बजार नजिकैको सबैभन्दा उच्च स्थानमा प्रकृति र संस्कृतिमा रमाउन पाउनु फलामेडाँडाको विशेषता हो”, उहाँले भन्नुभयो, “बेनी, बागलुङ र कुश्माबाट बिदा मनाउन आन्तरिक पर्यटक यहाँ आउन थालेका छन् ।”

प्राकृतिक हिसाबले सौन्दर्ययुक्त फलामेडाँडा जोड्ने सडक स्तरोन्नति सुरु र सामुदायिक लज सञ्चालन भएकाले पाहुनाहरू आकर्षित भएका पुनले बताउनुभयो । शनिबार र सार्वजनिक बिदाका दिन पाहुनाको चाप हुने फलामेडाँडा अन्य दिन पनि सुनसान हुँदैन ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको फलामेडाँडालगायत म्याग्दी र पर्वतका पर्यटकीयस्थललाई समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा सहायक गन्तव्य हो । पहाडको टुप्पोमा अवस्थित फलामेडाँडाको पृष्ठभूमिमा धवलागिरि, निलगिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । कालीगण्डकीको तिरबाट म्याग्दी, पर्वत र बागलुङका बस्तीका साथै सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य देखिने कुश्माको ज्ञादिबाट फलामेडाँडा आउनुभएका विमल ढकालले बताउनुभयो ।

मगर समुदायको मौलिक कला र संस्कृति, स्थानीय खानाका परिकार, न्यानो आतिथ्यता र ग्रामीण जीवनशैली पनि फलामेडाँडाको थप आकर्षण हुन् । धवलागिरि आमा समूहले पाहुनालाई मौलिक गीत र नृत्यबाट स्वागत गर्छन् । पञ्चैबाजामा नाचगान गर्न पाइन्छ ।

बेनीबाट दुई घण्टा ३० मिनेट पैदलयात्रा र एक घण्टा २० मिनेट जिप र मोटरसाइकलको यात्रा पनि पुगिने फलामेडाँडामा पाहुनाघर सञ्चालन भएको छ । एक दिनमा २० जना बास बस्न सक्ने क्षमताको पाहुनाघरमा स्थानीय कुखुरा, खसीको मासु, साग, मुला, कोदो, फापरका परिकारको स्वाद लिन पाइन्छ ।

“फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तिब्रता दिएका छौ,” वडा अध्यक्ष तिलक जिसीले भन्नुभयो “पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खानेबस्ने समस्या हटेको, आयआर्जन र रोजगारीका अवसर सिर्जना भएको छ ।” गत वर्ष फलामेडाँडाको प्रवर्द्धन गर्न लाटोकोसेरो महोत्सव पनि आयोजना भएको थियो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले फलामेडाँडा, हम्पाल, धाइरिङको भूमे ठाकुर र बनौलाई पर्यटकीय तथा बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणसँगै प्रवर्द्धनमा जोड दिएको बताउनुभयो । फलामेडाँडा क्षेत्रको खानेपानी समस्या समाधानका लागि सङ्घीय सरकारमार्फत भित्रिएको आयोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको पनि उहाँले बताउनुभयो ।

Share Now