Prakash Adhikari December 28, 2024

 

वाशिंड.टनडीसी(संयुक्त राज्य अमेरिका), १३ पौष (बीबीसी) । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने ‘प्रारम्भिक सङ्केत’ अमेरिकाले पाएको जनाउ दिनुभएको छ।

डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो।

किर्बीले त्यसबारे थप व्याख्या गर्नुभएको छैन तर पत्रकारहरूसँग बोल्ने क्रममा उहाँले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताउनुभयो।

चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ।

तर पछि उक्त विमान त्यसो नगरीकन क्यास्पिअन सागरतर्फ मोडिँदै काजाकस्तानतर्फ लागेको थियो जहाँ त्यो दुर्घटना हुन पुग्यो।

यसबारे क्रेमलिनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ। तर रुसी नागरिक उड्डयन निकायले चेचन्याको अवस्था त्यसमा हुने युक्रेनी ड्रोन हमलाका कारण निकै जटिल रहेको जनाएको छ।

कस्तो सङ्केत ?

किर्बीका अनुसार अमेरिकाले पाएका सङ्केत दुर्घटनाग्रस्त विमानका व्यापक रूपमा फैलिएका तस्बिरभन्दा भिन्न रहेको जनाएको वासिङ्टन पोस्टले लेखेको छ।

अजरबैजानका उड्डयन विज्ञ र अन्यले इलेक्ट्रोनिक जामिङका कारण विमानको जीपिएस प्रणालीहरू प्रभावित भएको र त्यसपछि त्यो रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर नस्ट भएको बताएका छन्।

अजरबैजानले रुसलाई आरोप नलगाए तापनि उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्यहाँका यातायात मन्त्रीले बताउनुभएको छ।

“बिना अपवाद बाँच्न सफल सबैले विमान चेचन्याकोे ग्रोज्नी माथि हुँदा तीनवटा विस्फोटनको आवाज सुनेको बताएका छन्”, रशाद नबियबले बताउनुभयो।

नबियबले अनुसन्धानहरूले ‘कस्ता खाले अस्त्र वा अझ कस्तो खाले रकेट प्रयोग भएको थियो’ भनेर जाँच गर्ने बताउनुभयो।

नाटकीय घटनाक्रम

यद्यपि, सरकार पक्षधर सांसद रसिम मुसाबेकोभ भने प्रस्ट हुनुहुन्छ,” उक्त विमानलाई गोज्नीमाथिको आकाशमा रुसी भूभागभित्रै प्रहार गरिएको थियो। यसलाई अस्वीकार गर्न असम्भव छ।”

समाचार संस्था एएफफीसँग कुरा गर्दै उहाँले विमान क्षतिग्रस्त भइसकेपछि पाइलटले गोज्नीमा आपत्कालीन अवतरण गर्न दिन भनेको बताउनुभयो ।

उहाँले बाह्य प्रहार झेलेको विमानलाई नजिकैका विमानस्थलतर्फ पठाउनुका साटो जीपिएसबीनै क्यास्पिअन सागरतर्फ ‘निकै पर पठाइएको’ बताउनुभयो।

फ्लाइट अटेन्डेन्ट जुल्फुकार असादोभले चेचन्यामाथिको आकाशमा रहँदा विमानमा ‘कुनै प्रकारको बाह्य प्रहार’ लागेको क्षण सम्झनुभयो।

“यसको असरले विमानभित्र त्रासदी मच्चियो। हामीहरूले उनीहरूलाई बसाल्नका लागि शान्त पार्ने प्रयास गर्‍यौँ। अर्को प्रहार लाग्दा भने मेरो हातमै चोट लाग्यो।”, उहाँले भन्नुभयो ।

एम्ब्राएर १९० विमानका पाइलटहरूलाई विमानमा सवार २९ जनाको जीवन बचाउन सकेको श्रेय दिइएको छ। यद्यपि दुर्घटनाका क्रममा उनीहरू स्वयंले ज्यान गुमाए।

क्रेमलिन के भन्छ ?

अजरबैजान एअरलाइन्सको उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीको प्रहार लागेको भन्दै व्यापक रूपमा आइरहेका खबरबारे प्रतिक्रिया जनाउन क्रेमलिनले अस्वीकार गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ भन्नुहुन्छ, “यस विमान दुर्घटनाबारे अनुसन्धान हुँदैछ र त्यसको नतिजाका रूपमा निष्कर्षहरू नआउँदासम्म हामी स्वयंले कुनै काम गर्न आवश्यक ठानेका छैनौँ।”

काजाक अधिकारीहरूले घाइतेहरूको उपचारमा सघाउँदै अनुसन्धानका लागि अजरबैजानसँग निकट रहेर काम गरिरहेका छन्।

बाकुबाट आइरहेका विवरणमा रुस र काजाकस्तान दुवैले अनुसन्धानका लागि कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)को एउटा समिति बनाउन प्रस्ताव गरेका छन्। सो क्षेत्रीय सङ्गठनमा रुसी प्रभाव छ।

तर अजरबैजानले भने एक अन्तर्राष्ट्रिय छानबिनमा जोड दिएको छ।

Share Now