काठमाडौं, १५ पौष । गुरुड. समुदायको नयाँ बर्षको पहिलो दिनको रुपमा मनाइँने तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख देवराज घिमिरेले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण तमुहरुलाई शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने स्पष्ट पार्नुभएको छ ।
नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।
राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
सांस्कृतिक महत्वलाई थप उजागर : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान पर्व तमु ल्होसार÷ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसार/ल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो ।
“तमु ल्होसार पुस १५ गतेको दिन बिहानैदेखि पूजाआजा गर्ने र देवतालाई खुशी पार्न विभिन्न प्रकारको भोग लगाउने जस्ता परम्पराले समुदायगत धार्मिक आस्था र विश्वासलाई थप प्रगाढ बनाउँदै मन, बचन र कर्ममा पवित्रता र आध्यात्मिकता बढाउनमा सघाउने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।
यसैगरी उपराष्ट्रपति यादवले तोल ल्होसारको पनि शुभकामना व्यक्त गर्नुभएको छ । यस वर्ष पुस १६ गते (पुस शुक्ल प्रतिपदाको दिन) हिमाली भेग हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायतका जिल्लामा बसोबास गर्ने लामा, शेर्पालगायतका समुदायले नयाँ वर्षका रुपमा तोल ल्होसार धुमधामका साथ मनाउँदै छन् ।
“हाम्रा चाडपर्वहरुले समुदायको भाषा, संस्कृति, पहिरन र रैथान रीतिरिवाजलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, पर्वलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्ने प्रयास गर्दै नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्न जरुरी छ”, उहाँले भन्नुभएको छ ।
सभामुख घिमिरेद्वारा शुभकामना
सभामुख देवराज घिमिरेले तमुल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवद्र्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले आज तमुल्होसार, २०८१ को पावन अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको काममा गर्दै उक्त शुभकामना व्यक्त गर्नुभएको हो ।“नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे हामी सबै जानकार नै छौँं”–सन्देशमा भनिएको छ,
“हाम्रा पर्वहरूले नागरिकस्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेका छन् ।”यो पर्व गुरुङहरूको नयाँ वर्षको आगमनलाई सङ्केत गर्ने दिनको रूपमा मनाइन्छ । गुरुङ समुदायले १२ वर्षमा १२ वटा जनावरको नामबाट ल्हो (वर्ष) चक्र निर्धारण गरेका छन् ।
यो नयाँ ल्होको स्वागत गर्ने पर्व हो । यस पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई जीवन्त राख्न भूमिका खेलेको छ ।
सभामुख घिमिरेले तमुल्होसार पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । तमुल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो ।
—