Prakash Adhikari December 30, 2024

काठमाडौं, १५ पौष । सामना बैंकिड. पुरस्कार गुठीले यस बर्षको बैकिड. पुरस्कार पूर्वबैंकर बीएन घर्तीलाई प्रदान गरेको छ भने यस बर्षको सामना बैंकिड. पत्रकारिता पुरस्कार विजमाण्डुका पत्रकार सुदर्शन सापकोटा(विद्युतीय सञ्चारमाध्यमतर्फ) र अन्नपूर्ण पोष्टकी पत्रकार ममता थापा(छापा माध्यमतर्फ)लाई संयुक्त रुपमा प्रदान गरेको छ ।

आइतबार राजधानीमा आयोजित एक समारोहमा जनसंख्या तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेल तथा नेपाल राष्ट्र बैंकका गभर्नरद्धय गणेशबहादुर थापा र डा.तिलक रावलले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

गुठीले बैंकिड. र वित्तीय विषयमा लेखिएको उत्कृष्ट पुस्तकलाई प्रत्येक दुई बर्षमा सामना बैंकिड. पुरस्कार दिने गरेको छ । यस पुरस्कारको रकम रु ७५ हजार रहेको छ । यस बर्ष पूर्व बैंकर घर्तीले लेख्नुभएको बैंकिड. अनुशासनलाई सो पुरस्कार दिइएको हो ।

यो पुरस्कारबाट हालसम्म ९ पुस्तकका ११ लेखक पुरस्कृत भैसक्नुभएको छ । यस भन्दा पहिले यो पुरस्कार बैंकिड. ल इन(Banking Law in Nepal) नेपालका लेखक रेशमराज रेग्मी र नेपालका आधुनिक मुद्राहरु एक समीक्षाका लेखक श्याम खतिवडा, इसेन्सियल्स् अफ कमर्सियल बैंक म्यानेजमेण्ट(Essentials of Commercial Bank Management)का लेखक डा.पराशर कोइराला, भोला राम श्रेष्ठ र देवेन्द्रबहादुर राउत, राजविक्रम थापा र दीर्घबहादुर रावललाई प्रदान गरिएको थियो । पहिलो पुरस्कार डा.रमा बस्याल र भरतभूर्तेल(स्वर्गीय)ले प्राप्त गर्नुभएको थियो । एक बर्ष कुनै पुस्तक प्राप्त नभएकोले वितरण नभएको गुठीले जानकारी दिएको छ ।

 

यता पत्रकारितातर्फ गुठीले छापा र विद्युतीय माध्यममा एकएक जनालाई पुरस्कृत गर्न थालेको छ । यो पुरस्कारको राशी ४० हजार रुपैया रहेको छ । यो पुरस्कारबाट यस अगाडि गजेन्द्र बुढाथोकी र रमेश ढकाल, यज्ञ बन्जाडे, हिमाल न्यौपाने र लोकबहादुर चापागार्इँ पुरस्कृत भईसक्नुभएको छ ।

गुठीले रेवत बैंकिड. छात्रवृत्तिबाट रोहन व्यञ्जनकार,कपिल पौडेल र रोजा प्रधानलाई प्रदान गरेको छ । सो पुरस्कार मन्त्री पौडेल र काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्लेले प्रदान गर्नुभएको थियो । उहाँहरुलाई क्रमश २०७४,२०७५ र २०७६ सालमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विषयमा सर्वोत्कृष्ट नतिजा हासिल गरेवापत प्रदान गरिएको हो ।

गुठीले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग अन्तरगत स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थी मध्ये पहिलो बर्षमा सबै बिषय उत्तीर्ण गरी इकोनोमिक्स अफ डेभलपमेण्ट एण्ड प्लानिड.मा बढी अंक ल्याउने विद्यार्थीलाई यस्तो छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्तिको राशी रु १५ हजार रहेको छ ।

अर्थविद् डा. रेवतबहादुर कार्कीले अक्षय कोष राखेर यो पुरस्कार गुठीको स्थापना गर्नुभएको हो । कोषमा हाल ४० लाख रुपैया रहेको छ ।

गुठीका संस्थापक अध्यक्ष डा.रेवतबहादुर कार्कीको सभापतित्वमा सम्पन्न साधरण सभा र पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथि जनसंख्या तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पुरस्कार छनौट समितिका कृष्णमान प्रधान(पुस्तकतर्फ), डा.गजेन्द्र विष्ट(पत्रकारितातर्फ), काठमाडौं विश्वविद्यालयका रेक्टर डा.अच्युत वाग्ले, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गोविन्द नेपाल, पुरस्कृत व्यक्तित्व बीएन घर्ती र ममता थापा तथा छात्रवृत्ति प्राप्ता मध्येबाट खगेन्द्र कटुवालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन गोकुल अधिकारीले गर्नुभएको थियो ।

Share Now