Prakash Adhikari January 2, 2025

क्रिस्टल हेज र म्याडलिन ह्याल्पर्ट/ बीबीसी न्यूज

लासभेगास (नाभडा,संयुक्त राज्य अमेरिका), १८ पौष । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला साइबरट्रक विस्फोटन भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार उक्त घटनामा सवारीचालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन। अधिकारीहरूका अनुसार घाइते भएका सातै जना नाबालक हुन्।

उक्त सवारीसाधान कोलोराडो राज्यबाट भाडामा लिइएको र बुधवार बिहान लास भेगस आइपुगेको प्रहरीले जनाएको छ। सहरमा प्रवेश गरेको दुई घण्टाभित्रै विस्फोटन भएको हो। होटलअगाडि सिसाको प्रवेशद्वारनजिकै पार्क गरिएको साइबरट्रकबाट पहिला धुँवा निस्किएको थियो र त्यसपछि त्यसमा विस्फोटन भयो।

बुधवार साँझ राष्ट्रपति जो बाइडनले उक्त घटनाबारे ह्वाइट हाउसले निगरानी गरिरहेको र कानुन कार्यान्वयन गर्ने निकायले त्यसको र न्यूओर्लिअन्समा भएको आक्रमणबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताउनुभयो। एक व्यक्तिले भिडमा लगेर गाडी जोत्दा नववर्षका अवसरमा रमाइलो गरिरहेका १५ जनाको मृत्यु भएको थियो।

दिउँसो आयोजित पत्रकार सम्मेलनमा लास भेगस प्रहरी प्रमुख केभिन मक्मेहिलले लास भेगस होटलमा भएको नाटकीय विस्फोटनको भिडिओ र त्यसपछिका तस्बिरहरू सार्वजनिक गर्नुभएको छ। ती सामग्रीमा साइबरट्रकमा इन्धन भरिएका कैयौँ क्यान र पटका देखिन्थ्यो।

भिडिओमा उक्त साइबरट्रक होटलको प्रवेशद्वारअगाडि नै रोकिएको देखियो। विस्फोटन हुनुभन्दा अगाडि केही सेकन्डसम्म उक्त ट्रक स्थिर थियो। त्यसपछि रङ्गीविरङ्गी पटकाहरू पड्किएर चारैतिर उडेका थिए।

अर्को एउटा भिडिओमा अनुसन्धानकर्ताहरूले आगो नियन्त्रण गर्न कालो रङ्गको टार्प प्रयोग गरेको र ट्रकभित्र जलेर बाँकी भएको अवशेष देखिएको थियो।

साइबरट्रकभित्र ग्यास र इन्धनका क्यानहरू पटकाका मोर्टारका अवशेषसँगै थिए।

उक्त घटनापछि होटलमा बसेका मानिसहरूलाई अन्यत्र सारिएको थियो।

न्यूओर्लिअन्सको घटनासँग सम्बन्ध रहेको आशङ्का किन

न्यूओर्लिअन्समा एक व्यक्तिले नववर्ष २०२५ को दिन उत्सव मनाइरहेका मानिसहरूको भिडमा गाडी जोतेको एक घण्टापछि लास भेगसमा विस्फोटन भएको थियो। न्यूओर्लिअन्सको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

लास भेगस प्रहरीका अनुसार ती दुई घटनाबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान भइरहेको छ। न्यूओर्लिअन्समा घटनास्थलनजिकै विस्फोटक पदार्थ फेला परेको थियो।

मक्मेहिलका अनुसार लास भेगस घटना राष्ट्रपति पदमा निर्वाचित भएका डोनल्ड ट्रम्पसँग वा उनलाई सहयोग गर्दै आएका धनाढ्य उद्योगपति इलोन मस्कप्रति लक्षित थियो कि थिएन भनेर छानबिन हुँदै छ। विस्फोटन भएको होटलमा ट्रम्पको लगानी छ भने उक्त घटनाका लागि प्रयोग गरिएको टेस्ला साइबरट्रक मस्कको स्वामित्वमा भएको कम्पनीले उत्पादन गर्छ।

“साइबर ट्रक, ट्रम्प होटल। पक्कै पनि हामीले उत्तर खोज्नुपर्ने धेरै प्रश्नहरू छन्”,उहाँले भन्नुभयो।

लुईजियाना राज्यकी महान्यायाधिवक्ता लिज म्यूरिलले न्यूओर्लिअन्स घटनामा धेरै व्यक्ति संलग्न रहेको सञ्चारमाध्यमलाई बताउनुभएको छ।

यसअघि अनुसन्धानकर्ताहरूले सन्दिग्ध व्यक्ति एक्लैले घटना गराए जस्तो आफूलाई नलागेको बताएका थिए।

एफबीआईले उक्त घटनाका सन्दिग्ध आक्रमणकारीको नाम ४२ वर्षीय शमसुद(दिन जब्बर भएको र उनी टेक्ससमा बसोबास गर्ने अमेरिकी नागरिक भएको जनाएको छ। उनी भूतपूर्व सैनिक हुन्। उनी विभिन्न अपराधमा संलग्न भएको अभिलेखले देखाएको छ।

उनले चलाएको गाडीमा इस्लामिक स्टेटको झण्डा फेला परेको अधिकारीहरूले बताएका छन्। उक्त घटना आतङ्ककारी कृत्य हो किन हैन भनेर छानबिन भइरहेको छ।

गुप्तचर निकाय के भन्छ

सङ्घीय जाँच ब्यूरो एफबीआईले उक्त घटना आतङ्ककारी कृत्य हो कि हैन भनेर आफूले अनुसन्धान थालेको बताएको छ। तर अधिकारीहरूले उक्त घटनामा ज्यान गुमाउने सवारीचालकको परिचय स्पष्ट हुन बाँकी रहेको जनाएका छन्।

उनीहरूका अनुसार अहिलेसम्म उक्त घटनामा इस्लामिक स्टेट (आईएस)को संलग्नता रहेको प्रमाण फेला परिसकेको छैन।

“सबै जनाको रुचि त्यो शब्दमा छ भन्ने मलाई थाहा छ। अनि उनीहरू हामीले यो आतङ्ककारी आक्रमण हो भन्छौँ कि भनेर सुन्न खोज्दै छन्। त्यो हाम्रो उद्देश्य हो, अनि हामी त्यसै गर्न खोज्दै छौँ “, एफबीआईका विशेष अधिकारी जेरमी श्वार्ट्जले एउटा पत्रकार सम्मेलनमा भन्नुभयो।

 

घटनामा प्रयोग गरिएको गाडी कसको

लास भेगसका प्रहरी प्रमुख मक्मेहिलका अनुसार दुवै सवारीसाधन एपमा आधारित गाडी भाडामा दिने कम्पनी ट्यूरोबाट भाडामा लिएको देखिएको छ।

एउटा विज्ञप्ति प्रकाशित गर्दै ट्यूरोका एक प्रवक्ताले आफ्नो कम्पनीले लास भेगस र न्यूओर्लिअन्सका अधिकारीहरूलाई अनुसन्धानमा सघाइरहेको जनाएका छन्। ट्यूरोका अनुसार दुवै गाडी भाडामा लिने व्यक्तिहरूको आपराधिक पृष्ठभूमि देखिएको थिएन।

अधिकारीहरूले कोलोराडोमा गाडी भाडामा लिने व्यक्तिको नाम थाहा भए पनि निजले नै उक्त गाडी चलाएको हो भनेर पुष्टि गर्न बाँकी रहेको जनाएका छन्।

दुवै घटनाबारे राष्ट्रपति बाइडनलाई जानकारी दिइएको थियो।

होटलसँग डोनल्ड ट्रम्पको कस्तो सम्बन्ध

लास भेगस होटलमा डोनल्ड ट्रम्पको कम्पनीको आंशिक स्वामित्व छ।

ट्रम्पका छोरा एरिक ट्रम्पले सामाजिक सञ्जाल एक्समा ट्रम्प लास भेगसको द्वारमा विद्युतीय सवारीसाधनमा आगलागी भएकोथाहा भएको लेख्नुभएको छ।

इलोन मस्कले एक्समा लेख्दै न्यूओर्लिअन्स र लास भेगस घटनाबीच कुनै न कुनै सम्बन्ध हुन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

घटनाका एक प्रत्यक्षदर्शी स्टीभन फर्नान्डोले ट्रम्प टावरको ५३औँ तलाबाट उक्त घटना भएको देखेको वाशिङ्टन पोस्टलाई बताएका छन्। उनका अनुसार विस्फोटनका कारण झ्यालहरू हल्लिएका थिए।

वाशिङ्टन पोस्टका अनुसार ट्रम्प होटलमा ६४ तला र झन्डै १,३०० कोठा छन्।

राष्ट्रपति पदमा निर्वाचित भएपछि ट्रम्पले इलोन मस्कलाई डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सी नामक राष्ट्रपतीय परामर्श आयोगको सहनेता नियुक्त गर्नुभएको छ। राष्ट्रपति निर्वाचन अभियानका बेला ट्रम्प र मस्कको घनिष्ठता बढेको थियो।

ट्रम्पले ज्यानुअरी २० मा राष्ट्रपति पदको शपथ लिर्दै हुनुुहुन्छ।

Share Now