काठमाडौं, २१ पौष। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत भएका पहिलो दिनको दुवै खेल सकिएको छ ।
आइतबार धनुषाको जनकपुरधाममा बागमती प्रदेश र मधेश प्रदेशबीच र पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
जनकपुरमा भएको बागमती प्रदेश र मधेश प्रदेशबीचको खेलमा टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै १०२ रन बनाएको थियो । मधेशका मयन यादवले सर्वाधिक २१ रन बनाए ।
मधेशलाई रोक्ने क्रममा बागमतीका क्याप्टेन सन्दीप लमािछानेले ५ , सूर्य तामाङले ३ विकेट तथा नन्दन यादव र प्रतिश जिसीले १ । १ विकेट लिए ।
जवाफमा बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रन बनाएको छ । बागमतीका शुभ कंसाकार २२ तथा इशान पाण्डे ९ रन बनाए । मधेशका रुपेश सिंह र विशाल पटेलले १ । १ विकेट लिएका छन् ।
पर्सामा भएको विभागीय टिमहरुको प्रतिस्पर्धामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको थियो । आर्मी ३४.४ ओभरमा १ सय २१ रनमा अल आउट भयो । खेलमा कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।
आर्मीलाई रोक्ने क्रममा पुलिसका ललित राजवंशी एक्लैले सात विकेट लिए । ललितले ४७ रन दिएर ७ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १। १ विकेट लिए । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका थिए ।
जवाफमा पुलिसले पहिलो दिनको समाप्तिमा २४ ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ । पुलिस अब अग्रताबाट १८ रन मात्र पछाडि छ । उसका गुल्शन झा ३४ रनमा अविजित छन् ।
नेपाल पुलिस क्लबलाई रोक्ने क्रममा आर्मीका साहब आलमले ५ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १ । १ विकेट लिएका छन् ।
सोमबार दुवै खेलको बाँकी ओभर पूरा हुने छ । दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।