लेखनाथ (कास्की), २१ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्ने बताउनुभएको छ । पोखरामा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान अवस्थामा सङ्कलन हुने राजस्वमा ३५ प्रतिशतले वृद्धि गर्न सकेमात्रै देशका आवश्यकता र राजनीतिक लक्ष्य पूरा हुने भन्दै यसतर्फ गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महामन्त्री थापाले राजनीतिक स्थिरता भएमात्र उद्योग व्यवसायमा लगानी बढ्ने भएकाले स्थिरता र विकास निर्माणका लागि उद्योगी व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “सहज रूपमा उद्योग सञ्चालन गर्न र विदेशी पर्यटकलाई आकर्षित गर्न हवाई टिकटको शुल्क घटाएर भए पनि नेपालको अर्थतन्त्रलाई बलियो बनाउन जरूरी छ । राजमार्गको स्तरोन्नति, पर्यटन पूर्वाधारमा लगानी गरी सहज वातावरण बनाउन सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
राजनीतिक स्थिरताका लागि वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्ने विषयमा छलफल भइरहेको भन्दै महामन्त्री थापाले कुनै पनि दलको बहुमत नहुँदा विकास निर्माण र जनचाहना पूरा हुन नसकेकाले यस विषयमा दलहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
व्यवसायी माइकल कर्माचार्यले पछिल्लो चार महिनामा नेपालको व्यापारघाटा चार सय ६१ करोड रहेको बताउँदै सुधारका लागि सरकारले योजना अगाडि सार्नुपर्ने धारणा राख्नुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव जानुका पराजुलीले उद्योगीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
पर्यटन व्यवसायी एवं पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले गण्डकी प्रदेशका होटलको क्षमता ३५ हजार भए पनि हाल ३० देखि ४० प्रतिशत मा ‘अकुपेन्सी’ रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको पुँजी पलायन भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । पर्यटन व्यवसायी सोम थापाले पर्यटन व्यवसाय धराशायी हुँदै गएकाले यसलाई उकास्न विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रमा देखिएको मन्दीलाई उकास्न ‘सस्तो प्याकेज’ दिएर भए पनि विदेशी पर्यटकलाई नेपाल घुम्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा उद्योगी बाबुराम गिरी, गणेशबहादुर भट्टराई, गणेश थापा, गीता लामिछानेलगायतले उद्योग व्यवसायलाई सहज रूपमा व्यापार व्यवसाय गर्ने वातावरण बनाउनका लागि आग्रह गर्नुभयो ।
—