Prakash Adhikari January 5, 2025

-आना फिगी ।बीबीसी न्यूज
वाशिङ्टन(संयुक्त राज्य अमेरिका), २१ पौष । अमेरिकी विदेश मन्त्रालयले इजरेललाई आठ अर्ब डलर बराबरको अस्त्र बिक्री गर्ने योजनाबारे त्यहाँको संसद्‌लाई जानकारी गराएको एक जना अमेरिकी अधिकारीले बीबीसीलाई पुष्टि गरेका छन्।

उक्त अस्त्र बिक्रीका निम्ति अमेरिकी संसद्‌का समितिहरूको स्वीकृति आवश्यक पर्छ।

इजरेल पठाउन लागिएका अस्त्रहरूमा क्षेप्यास्त्र, गोलाबारुद र अन्य हातहतियारहरू संलग्न छन्।

राष्ट्रपतिमा पराजित भएका जो बाइडनले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पलाई पद छाड्न १५ दिन बाँकी रहँदा उक्त योजना अघि सारिएको हो।

अमेरिकी सहायता निरन्तर

इजरेली हमलाका कारण गाजामा हजारौँ सर्वसाधारणहरू मारिएका कारण इजरेललाई सैन्य सहायता नगर्न गरिएको आह्वानलाई अमेरिकाले अस्वीकार गर्दै आएको छ।

गत अगस्टमा पनि अमेरिकाले २० अर्ब अमेरिकी डलर बराबरका लडाकु विमानहरूसहित अन्य अस्त्रहरू इजरेललाई बिक्री गर्ने योजनालाई स्वीकृत गरेको थियो।

ती अमेरिकी अधिकारीका अनुसार इजरेललाई ढुवानी गर्न लागिएको पछिल्लो खेपमा आकासबाट आकासमा नै प्रहार गर्न मिल्ने क्षेप्यास्त्रसहित अत्याधुनिक हतियारहरू, गोलाबारुद र बमहरू रहेका छन्।

अमेरिकाको पछिल्लो अस्त्र बिक्री योजनाबारे जानकार एक स्रोतले शनिवार बीबीसीसँग भन्यो, “राष्ट्रपतिले इजरेलसँग अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन अनुरूप आफ्ना नागरिकको रक्षा गर्ने तथा इरान र उसका छद्म सङ्गठनहरूको आक्रामकतालाई रोक्ने अधिकार रहेको स्पष्ट पारेका छन्।”

“हामी इजरेलको रक्षाको लागि आवश्यक सामग्री र क्षमता प्रदान गर्ने कार्य जारी राख्छौँ।”

बाइडनले इजरेलप्रति बारम्बार अमेरिकाको समर्थनलाई दोहोर्‍याएका छन्।

इजरेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता

अमेरिका इजरेलका लागि सबैभन्दा धेरै अस्त्र तथा आधुनिक उपकरण आपूर्ति गर्ने देश हो। उसले इजरेली सेनालाई विश्वकै अत्याधुनिक सेना बनाउन व्यापक सहायता गर्दै आएको छ।

स्टकहोम इन्टरन्याशनल पिस रिसर्च इन्स्टिट्यूड (एसआईपीआरआई) का अनुसार सन् २०१९ र २०२३ को बीचमा इजरेलले प्रयोग गरेका मुख्य परम्परागत हातहतियारमध्ये ६९ प्रतिशत अमेरिकाबाट आयात गरेको छ।

सन् २०२४ को मे मा अमेरिकाले इजरेलले दक्षिणी गाजाको सहर रफाहमा ठूलो स्थल आक्रमण गरेका बेला एउटा अस्त्र आपूर्तिको खेप पठाउन रोकेको पुष्टि गरेको थियो।

तर बाइडनले तुरुन्तै वाशिङ्टनमा रिपब्लिकनहरू र इजरेली प्रधानमन्त्री नेतन्याहुबाट आलोचनाको सामना गरे।

उनीहरूले त्यसलाई “अस्त्र प्रतिबन्ध” सँग तुलना गरेका थिए। त्यसपछि बाइडनले त्यस्तो गतिविधिलाई दोहोर्‍याएका छैनन्।

अहिलेको ढुवानी योजनलाई हालैका साताहरूमा बाइडन प्रशासनले चालेका कैयौँ कदममध्ये एकका रूपमा लिइएको छ।

राष्ट्रपति निर्वाचित ट्रम्पले प्रशासन सम्हालेपछि बाइडनका योजनाहरूलाई किनारामा पार्न सक्छन् भन्ने आकलनबीच उनले यस्तो कदम चालेका हुन्।

बाइडनको अन्तिम अस्त्र आपूर्ति हुनसक्ने

यही ज्यानुअरी २० मा बाइडन ह्वाइट हाउसबाट बाहिरिँदै छन्। उनका उत्तराधिकारी ट्रम्पले पद सम्हाल्नुअघि बाइडनले इजरेलमा पठाउने अस्त्रको यो अन्तिम खेप हुन सक्छ।

ट्रम्पले विदेशी द्वन्द्वमा अमेरिकी संलग्नतालाई कम गर्ने बताउँदै आएका छन्।

यद्यपि उनी इजरेलको समर्थकका रूपमा देखिएका छन्। तर उनले गाजामा तत्काल युद्ध अन्त्य गर्नुपर्ने बताउने गरेका छन्।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा १,२०० मानिसहरू मारिनुका साथै २५१ जनालाई हसामले बन्धक बनाएपछि इजरेलले गाजामा आक्रमण गरेको थियो।

गाजामा हालसम्म ४५,५८० जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसरी मारिनेमा आधाभन्दा बढी महिला र बालबालिका छन्।

गाजाबाट विस्तार भएको लडाइँ अहिले लेबननमा पनि फैलिएको छ भने यमनमा हूथी विद्रोहीसँग इजरेल लडिरहेको छ।

Share Now