Prakash Adhikari January 6, 2025
उल्भरह्याम्टन (बेलायत) २२ पुस ।  अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लण्डन न्यू इयर डे परेड’मा सहभागी रोयल बरो अफ ग्रीनबीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ ।
नयाँ वर्षको दिन लण्डनमा आयोजित परेडमा सहभागी ७५ समूहमध्ये लण्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनबीच बरो तेस्रो भएको मेयर जीत रानाभाटले जानकारी दिनुभयो । लण्डन ह्वाइट हलमा आयोजित एक समारोहमा लण्डन न्यू इयर परेडका निर्देशकले तेस्रो पुरस्कार स्वरुप ग्रीनबीच बरोलाई ट्रफी प्रदान गर्नुभएको हो ।
ग्रीनबीच बरो मेयर जीत रानाभाट, मेयरेस गौमाया गुरुङ, परेडका लागि बरोका संयोजक श्रीचन्द्र गुरुङलगायतले पुरस्कार ग्रहण गर्नुभएको हो । यस वर्ष परेडमा प्रस्तुतिको आधारमा लण्डनको लुइसम बरो प्रथम र सटन बरो दोस्रो भएका छन् । तेस्रो स्थान प्राप्त गरेको ग्रीनबीच बरोले पाँच हजार पाउण्ड नगद प्राप्त गरेको छ । सो रकम मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टमा खर्च गरिने जनाइएको छ ।
परेडमा यस वर्ष ग्रीनबीच बरोको तर्फबाट मेयर जीत रानभाटको पहलमा स्थानीय नेपाली समुदायले नेपाली कला, संस्कृति झल्काउने मौलिक प्रस्तुति प्रदर्शनी गरेको थियो । मेयर रानाभाटले लण्डन परेडमा बरोले नेपाली कला, संस्कृतिको प्रदर्शनी गर्दै तेस्रो स्थान हासिल गरेकोमा सहभागि सम्पूृर्णलाई धन्यवाद दिनुभएको छ ।
परेडमा ग्रीनबीच बरोका तर्फबाट पासा पुचः गुथि यूकेले सुशील प्रजापतिको संयोजनमा धिमे, ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी र लाखे नाच, गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा र साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो । थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, मगर समुदायले आफ्नो कला संस्कृति देखाएका थिए ।
Share Now