काठमाडौँ, २३ पौष । तिब्बतको सिगात्से निकट दिनगए केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान तिब्बतको दिनगाए केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
बिहान ६ बजेर ५० मिनेट जाँदा तिब्बतको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का राजधानी काठमाडौँसम्म महसुस भएको छ । यस्तै नेपालका पूर्वी हिमाली र पहाडी जिल्ला लगायत, भारत र बंगलादेशसम्म पनि यसको धक्का महसुस भएको बताइएको छ ।
एकाबिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।