Prakash Adhikari January 8, 2025

दुईपिप्ले(मध्यनेपाल, लमजुङ), २४ पौष । आजदेखि नेपालको मध्यभागमा पर्ने लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका ४ को दुईपिप्लेमा प्रथम मध्यनेपाल महोत्सव सुरु हुने भएको छ ।

आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँको कारोबार हुने अनुमान आयोजकहरुले गरेका छन् ।
आयोजकहरुले महोत्सवमा रचना रिमाल, एलिना चौहान,प्रिती आले,अस्मिता अधिकारी, राजु परियार, शिला आले, बद्रि पगेनी, सजिवसिंह राना,मञ्जु विक,रमेश श्रेष्ठ,विवेक धिताल र नवु सुवेदी जस्ता ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुलाई निम्त्याइएको र उनीहरुको फरकफरक दिनमा प्रस्तुति रहने जानकारी दिएका छन् ।

महोत्सवमा स्थानीय कला संस्कृतिको पनि विस्तार गरिने भएको छ । मध्य नेपालको पञ्चै बाजा र नौमति बाजा लमजुड.मा नै प्रख्यात छ । महोत्सवमा स्थानीय कौरा, घाँटु, सोरठी, चुड्का, भजनको पनि प्रस्तुति रहने बताइएको छ ।

‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा पनि आयोजकहरुले गरेका छन् ।महोत्सव अवधिमा एक करोडको कारोबार हुने, महात्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानिक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई प्रबर्धन गर्न महोत्सव आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक कविराम श्रेष्ठले बताउनुभएको छ ।

महोत्सव सफल बनाउनका लागि १ सय ५१ नजाको मूल आयोजक समिति गठन गर्नुका साथै ११ जनाको सल्लाहकार समिति तथा १६ वटा विभिन्न उपसमिति गठन गरी तिनलाई आआफ्नो जिम्मेवारीको काम तदारुकताका साथ काम गर्न लगाएको छ । महोत्सव मध्यनेपाल नगरपालिका– ४ को रम्घा दुईपिप्लेमा भएपनि महोत्सवमा सम्पूर्ण पालिकाभरको प्रतिनिधित्व र अपनत्व हुने गरी काम गरिएको छ

महोत्सव अवधिमा दर्शकहरुलाई स्थानीय उत्पादनका खानाका परिकारहरूको स्वाद दिलाउनुका अतिरिक्त यस मध्य नेपालका दर्शनीय स्थानहरु नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्वर महादेव मन्दिर अवलोकन गराउने कार्यक्रम रहेको स्थानीय कला संस्कृति उपसमितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, विभिन्न जातजातिका पुख्यौली नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिने छ ।

महोत्सवले यस क्षेत्रका आदिवासी बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेको छ ।

सल्लाहकार समितिका संयोजक रामबहादुर श्रेष्ठले पहिलो महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गरी आगामी वर्षमा गरिने दोस्रो, तेस्रो महोत्सवका आधार तयार गरिने बताउनुभएको छ ।

महोत्सवका लागि कुल १ सय २० वटा निर्माण गरिएको र सबै स्टल बुक भइसकेको स्टल तथा स्टेज निर्माण समितिका संयोजक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ ।

महोत्सवको उद्घाटन भने ‘मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले गर्नुहुने कार्यक्रम रहेको छ।

दुईपिप्ले लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा रहेको छ । लमजुङ जिल्लामा पालिकास्तरीय महोत्सवको आयोजना गर्ने मध्यनेपाल नगरपालिका जिल्लाको दोस्रो पालिका हो । यस अगाडि मर्स्याड.दी गाउँपालिकाले यस्तो महोत्सव आयोजना गरिसकेको छ ।

 

सायद १२ जना मानिसहरू र पाठ को फोटो हुनसक्छ

Share Now