काठमाडौं, २५ पौष । निरन्तर ६ कारोबार दिनसम्म बढ्दै आएको नेपालको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहिवार घटेर बन्द भएको छ।
बिहीबार धितोपत्र बजार परिसूचक १८.१४ अंक घटेर २६३५.०९ विन्दुमा झरेको छ। यस दिन ३ सय ८ स्टकको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा ६ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको थियो।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बाराही हाइड्रोपावर पब्लिक र हिमालयन पावर पार्टनरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन रिभरफल्स पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सिनर्जी पावर डेभलपमेन्टको २८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिन्धु विकास बैंकको २५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।