Prakash Adhikari January 9, 2025

कोलकोता(पश्चिम बंगाल,भारत), २५ पौष । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ ।

तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।

कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल श्री वि.के. नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु श्री जे. सेन, श्री मिहिर गोस्वामी, श्री अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल वि.के. नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । वहाँले यति धेरै अभिकर्ताहरुलाई नेपाल बाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागी गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । उहाँले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताउनु भयो । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेश कन्टिन्युटी साईकलका सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । बहाँले अभिकर्ताले ग्राहकहरुको रुचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्री गर्ने र बिक्री पश्चात पनि आफ्ना ग्राहकहरुसंग सँधै सम्वन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।

बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डियाको तालिममा सहभागी भई तालिम प्रमाणपत्र प्राप्त गर्नु एउटा ठूलो अवसर भएको र यो अवसर जुराई दिएकोमा सहभागी अभिकर्ताहरुले कम्पनी व्यवस्थापन प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

Share Now