काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई पार्टीका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका जीवनका उत्तराद्र्धका विचार र व्यबहारबाट शिक्षा लिन आग्रह गर्नुभएको छ ।
गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानले गिरिजाप्रसाद कोइरालाको ९४ औं जन्म जयन्तीको अवसरमा आयोजना गरेको “कांग्रेसले राजनीतिक मुद्दा जित्यो निर्वाचन परिणामा हार्यो : कसो गरे उभो लाग्ला” भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा नेता सिटौलाले सो आग्रह गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेता सिटौलाले २०५९ साल असोज १८ को प्रतिगमन पछि नारायणमान विजुक्छे, अमिक शेरचनको संयुक्त जनमोर्चा नेपाल, नेपाल सद्भावना पार्टीका भरत विमल यादवको सहयोगका संसद पुनस्थापनाको माग राखेर सुरु भएको आन्दोलनमा अविचलित रही ८० बर्षको उमेरमा लाठी खाँदै पलेटी कसेर लागेको उदाहरण दिदैं भन्नुभयो, ‘मरेको संसद ब्यूतन्छ भनेर कसैले सोचेका थिएनन तर राजाको माघ १९ को प्रतिगमनपछि पार्टी फुटाएर जानुभएका देउवा पनि आउनु भयो, प्रतिगमन सच्चियो भन्ने एमाले आयो र संसदीय मोर्चाका सबैदलहरु एकठाँउमा उभिने अवस्था आयो ।’
नेता सिटौलाले संसदीय मोर्चाका दलहरु एक ठाँउमा उभ्याउने सफलता पाएपछि पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले जनताको जीवन सुरक्षा गर्न नसके लोकतन्त्र खोटो हुने निष्कर्ष निकालेर १२ बूँदे संझौता गरि माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा आउन प्रेरित गरेको र शान्तिपूर्ण संयुक्त आन्दोलनका माध्यमबाट विघटित प्रतिनिधिसभा पुनस्थापना संभव भएको स्मरण गराउनुभयो ।
नेता सिटौलाले समयको प्रवाहलाई बुझ्न नसक्दा राजतन्त्रको अन्त्य भएको बताउदै समयको गतिलाई कांग्रेसको नेतृत्वले पनि बुझ्नुपर्ने बताउनुभयो ।
जनताको विकासप्रतिको चाहना,समृद्धिको चाहना र संसदीय लोकतन्त्रको संरक्षण र संबद्र्धनलाई नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर पूरा गर्नुपर्ने कठिन र चुनौतीपूर्ण दायित्व निर्वाह गर्न पार्टीलाई एकीकृत र सबल बनाउनुपर्ने आवश्यकतालाई कांग्रेस नेतृत्वले गम्भीरतापूर्वक लिन नसकेको पनि आरोप लगाउनुभयो ।
नेपाललाई स्वतन्त्र,स्वाधीन,सार्वभौमसत्ता सम्पन्न, सबल र विकसित राष्ट बनाउन नेपाली कांग्रेस एकताबद्ध हुनुपर्दछ, नेता सिटौलाले भन्नुभयो, कम्युनिष्टहरुको चरित्र नै सर्वसत्ताबाटी हो , उनीहरुबाट लोकतान्त्रिक आचरणको अपेक्षा गरेपनि पूरा हुँदैन , छोटो समयमा उनीहरुले गरेका प्रेस,न्यायालय र कर्मचारीमाथिको थिचोमिचोबाट केही संकेत त पाइसकेको अवस्था छ ।
नेता सिटौलाले पार्टी सभापतिलाई निजी स्वार्थभन्दा माथि उठन र सानो गुटको घेराबाट माथि उठेर सिंगो पार्टीलाई ,पार्टीका संयन्त्रलाई लोकतान्त्रिक मार्गमा लैजान, पार्टीलाई एकताबद्ध राख्न आग्रह समेत गर्नुभयो ।
उहाँले पार्टीमा आत्मनिरीक्षणको आवश्यकता पनि औल्याउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडैल, केन्द्रीय सदस्य शिवप्रसाद हुँमागाई, पूर्व मन्त्री तीर्थराम डंगोलले पनि बोल्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानका सभापति भीमसेनदास प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो ।