Prakash Adhikari January 11, 2025
काठमाडौँ, २७ पुसः राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक लघु नाटक प्रदर्शन र कविता प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रमुख सेनानी चन्द्रशेखर काप्रीले ‘जन्मेर आउ’, उपसेनानी बलदेव केसीले ‘राष्ट्र निर्माताको देन’ र प्राविधिक जम्दार देवीप्रसाद बरालले ‘एकताको मियो’, सैनिक आवासीय महाविद्यालय भक्तपुरका छात्र उत्सव आचार्यले ‘पृथ्वी सन्देश’, राष्ट्रिय सेवादलका क्याडेट तात्रा सलिना खड्काले ‘नेपालः एकता र साहसको प्रतिविम्ब’ र रोशनी तण्डुकारले ‘मेरो घर, मेरो महिमा’शीर्षकको  कविता प्रस्तुत गर्नुभयो ।
सो अवसरमा इतिहासविद् प्राडा राजाराम सुवेदी र प्राध्यापक डा त्रिरत्न मानन्धरले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका र उहाँको दिव्योपदेशसम्बन्धी प्रवचन दिनुभएको थियो । समारोहमा प्रधान सेनापति सिग्देलले कविता प्रतियोगितामा सकल दर्जा र सैनिक महाविद्यालय र राष्ट्रिय सेवादलतर्फ उत्कृष्ट हुनेलाई पुरस्रकार र प्रमाणपत्र तथा प्रवचनकर्तालाई प्रसंशापत्र प्रदान गर्नुभयो ।
       उपरथी दीपककुमार बानियाँले पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले प्रत्येक वर्ष जङ्गी अड्डादेखि युनिट तहसम्म विविध कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो । यसवर्षको पृथ्वी जयन्तीका अवसरमा शाहको जीवनी, दिव्योपदेशसम्बन्धी ५२ वटा प्रवचन, चार वटा पदयात्रा कार्यक्रम, २६ वटा अनुसन्धानात्मक आलेख, कविता, वक्तृत्वकला प्रतियोगिता, दौड र विभिन्न पेसागत कला प्रदर्शन भएका छन् । सेनाले सञ्चालन गरेको विविध क्रियाकलापमा करिब ११ हजार पाँच सय फौज प्रत्यक्षरुपमा सहभागी भएको थिए ।
उपरथी बानियाँले जङ्गी अड्डा तहमा सैनिक महाविद्यालयस्तरीय लघु नाटक प्रतियोगिता, सकल दर्जा, सैनिक महाविद्यालय र राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित कविता प्रतियोगितासमेत सञ्चालन गरिएको जानकारी दिनुभयो । नेपाली सेनाले पृथ्वी नारायण शाहलाई आफ्नो संस्थापक मान्दै आइरहेको छ ।
“दिवसका सन्दर्भमा गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रालाई निरन्तरता दिइएको छ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको ऐतिहासिक साँगुरीगढी पदयात्रा कार्यक्रम यसवर्ष सुनसरीको फुस्रेबाट धनकुटाको पाख्रिबाससम्म थप गरी सञ्चालन गरिएको छ”, कार्यरथी बानियाँले भन्नुभयो ।
        सेनाले पहिलो पटक उदयपुर जिल्लामा उदयपुरगढी–चौदण्डीगढी पदयात्रा र इलाममा इलाम नगरपालिका, जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको अगुवाइ र नेपाली सेनाको संयोजकत्वमा नेपाल–भारत सीमानामा पर्ने छब्बीसेदेखि माइस्थानसम्म करिब ३९ किमी दूरीको निशान पदमार्ग पदयात्रा कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।
        सेनाले सामरिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण पदमार्गहरु तथा गढी किल्लाको पहिचान, सञ्चालन सम्बद्र्धन र प्रचारप्रसारमा पूरातत्व विभाग, पर्यटन विभाग र अन्य सरोकारवाला निकायसँगको समन्वयमा काम अघि बढाइएको उपरथी बानियाँले जानकारी दिनुभयो ।
        राष्ट्रिय एकता प्रवद्र्धन केन्द्रित कार्यक्रमबाट पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना थप मजबुद हुने नेपाली सेनाको विश्वास छ । कार्यक्रममा पूर्वप्रधान सेनापति, पूर्वरथीवृन्द, रथीवृन्द, प्राध्यापक, इतिहासविद्लगायत उपस्थित हुनुहुन्थ्यो ।
        त्यसअघि प्रधानसेनापति सिग्देलले जङ्गी अड्डा परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसअवसमा सेनाको टुकडीले राष्ट्र निर्माता सलामी अर्पण गरेको थियो ।
Share Now