क्वाललम्पुर(मलेशिया), २९ पौष । यु १९ महिला टी २० विश्व कप खेल्न मलेशिया पुगेको नेपाली टोली वेष्ट इण्डिजसंगको पहिलो अभ्यास खेलमा ९ रनले पराजित भएको छ।
मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो।
नेपालकी सीमाना केसीले टोलीका लागि सर्वाधिक २३ रन बनाइन् ।खेलमा किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन जोडे ।
५४ रनमा ६ विकेट गुमाएको नेपालका लागि किरण र सिमानाले ३० रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेकल वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो।
खेलमा वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक २५ रन बनाइन्। खेलमाओपनर असाबी क्यालेन्डर २३ जोडिन् ।
वेष्ट इण्डिजलाई रोक्ने क्रममा नेपालका लागि रचनाकुमारी चौधरी र सीमना केसीले विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल जनवरी १५ मा अमेरिकासँग खेल्नेछ ।
मलेसियामा यही जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने विश्वकपमा नेपाल समूह डीमा छ।
नेपालले जनवरी १८ मा बंगालादेशसँग विश्व कपको यात्रा सुरु गर्नेछ। त्यसपछि नेपालले जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।
महिलाको कुनै पनि स्तरमा नेपालले विश्व कप खेल्न लागेको यो पहिलो पटक हो।


















