धनगढी(कैलाली), २ माघ । धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगितामा बुधवार पजि सुदूरपश्चिम र एपीएफ विजयी बनेका छन् ।
बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
१ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रन जोड्दै अल आउट भयो । लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १४ रन बनाइन् । कप्तान सरस्वती जिएमले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि रेवती धामीले ३, आशिका महराले २ तथा करिष्मा थापा, जानकी थापा, ऋतु कनौजीया र कविता कुँवरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि कविताले सर्वाधिक ५५ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् ।
ओपनर मनिषा बोहोरा २३ र ऋतु कनौजिया १८ रन बनाइन् । लुम्बिनीका लागि सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डिसीले समान १ विकेट लिए ।
एपिएफसँगै सुदूरपश्चिमको ४ अंक भएको छ । आजको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको थियो।
एपीएफद्धारा गण्डकी प्रदेश ८ विकेटले पराजित
विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो ।
७१ रनको लक्ष्य एपिएफले ९।३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा कप्तान इन्दु बर्माले नट आउट रहदै सर्वाधिक २६ रन जोडिन् । उनले २१ बलमा २ चौका प्रहार गरिन् ।
ममता चौधरी १८ रनमा आउट हुँदा रोमा थापा १४ रनमा नट आउट रहिन् ।गण्डकीका लागि आकृती तिवारी र एशोदा भुजेलले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोडेको थियो । गण्डकीका कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन् ।
रेखा तामाङ १७ तथा श्रेया शाही १३ रनमा आउट भए । एपिएफकी बिन्दु बुढाले २ तथा करुणा भण्डारीले १ विकेट लिइन् । एपिएफले मंगलवार पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।
गण्डकीको यो दोस्रो हार हो। मंगलवारै गण्डकी सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो । एपिएफको ४ अंक छ । गण्डकीले अंकविहिन छ।


















