Prakash Adhikari January 16, 2025

 

दोहा(कतार), ३ माघ(बीबीसी) । लामो प्रयासपछि इजरायल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ।

सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अलथानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरायली मन्त्रिपरिषद्‍बाट यो स्वीकृत हुने तालिका रहेको बताउनुभएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहाई समेटिएको जनाउनुभएको छ।

छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिनेछ। त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ।

यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ।

भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरायल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ।

बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।

अमेरिकी प्रतिक्रिया

US President Joe Biden delivers his farewell address to the nation from the Oval Office of the White House in Washington, DC, on January 15, 2025. (Photo by Mandel NGAN / POOL / AFP) (Photo by MANDEL NGAN/POOL/AFP via Getty Images)

राष्ट्रपति बाइडनले यस सम्झौता इजरायली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनर्स्थापनाको अवसर रहेको बताउनुभएको छ।

उहाँले गाजाबासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताउनुभएको छ।

कार्यकालको अन्त्यमा रहेका बाइडनले यस सम्झौता आफूले यसअघि मे महिनामा अघि सारेकै ढाँचामा रहेको बताउनुभयो।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइटहाउसले भन्दा अगाडी यस सम्झौता घोषणा गरेका थिए।

उहाँले त्यो आफ्नो राष्ट्रपतीय जितपछि मात्र सम्भव भएको बताउनुभयो।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यस प्रयासका लागि भन्दै बाइडन र ट्रम्प दुवैलाई धन्यवाद दिनुभएको छ।

हर्षोल्लास

खान यूनिसमा हर्षोल्लास

 

सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ।

डेर अलबलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ।

अन्यत्र इजरायली हमला भएका विवरण समेत छन्। हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार बुधवार मात्र इजरायली हवाई हमलाका कारण २० जना मानिसहरू मारिएका छन्।

इजरायली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन्। उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ।

इजरायली राष्ट्रपति आइज्याक हर्गजले सम्झौताका केही पक्ष निकै पीडादायी भए तापनि यो सही कदम भएको बताउनुभएको छ।

हमासका मुख्य वार्ताकार खलिल अलहयाले गाजामा थोपरिएको पीडाका लागि क्षमन नदिने बताउनुभएको छ।

गाजा युद्धको क्षति

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १ हजार २ सय जनाको मृत्यु हुनुका साथै २ सय ५१ जना बन्धक बनाइएका थिए।

त्यसपछि हमासविरुद्ध इजरायलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७ हजार भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकहरूको रिहाइ, युद्धको अन्त्य, इजरायलको सुरक्षा र प्यालेस्टिनीहरूका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताउनुभएको थियो ।

Share Now