काठमाडौं, ८ माघ । भारतमा सम्पन्न खो खो विश्व कपमा उपविजेता बनेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। रजत पदक विजेता दुवै टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार बिहान उत्रिएको नेपाली टिमलाई बाजा गाजासहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, खो खो संघका अध्यक्ष प्रदीप महर्जन र काठमाडौं महानगरपालिकाका प्रतिनिधि लगायतले स्वागत गर्नुभएको थियो।
पहिलो पटक भएको विश्व कपमा नेपालको महिला टोली समूह चरणको चार वटै खेल जितेर समुह विजेता बन्दै फाइनल पुगेको थियो।
नेपाली महिला टोलीले समूह चरणमा श्रीलंका, बंगलादेश, भुटान र जर्मनीलाई हराउँदा क्वाटर फाईनलमा इरान र सेमिफाइनलमा युगान्डालाई पराजित गरेर फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा भने घरेलु टोली भारतलाई जित्न नेपाललाई कठिन भयो।

समूह चरणमा पेरु, ब्राजिल र भुटानलाई पराजित गरेको नेपाली पुरुष टोली भारतसँग हारेको थियो ।समूह उपविजेता बन्दै क्वाटर फाईनलमा पुगेको नेपालले क्वाटर फाईनलमा बंलादेश र सेमिफाइनलमा इरानलाई हरायो। फाइनलमा भारतसँग भिडेको नेपालले विजेता बन्न कडा प्रतिस्पर्धा गरेको हो र विजय माला भारतले पहिरियो।
खो खो विश्व कपमा महिलामा १९ र पुरुष २० देशको सहभागिता रहेको थियो।
यो जितपछि खेलाडी तथा प्रशिक्षकहरूले कम्तीमा एउटा कभर्ड हलको व्यबस्था गरिदिन आग्रह गरेका छन्। राखेपका सदस्य सचिव घिसिङले सरकारको नियम अनुसार खो खो उपविजेता टोलीहरुलाई नगदसहित पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
खेलकुद विकास नियमावली २०७९ मा अन्तर्राष्ट्रिय महासङ्घ (आईएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ।
त्यसका आधारमा खो खो को महिला र पुरुष दुवै टोलीका खेलाडीले ४५ लाख रुपैयाँ पाउनेछन् । यससम्बन्धी प्रस्ताव भने मन्त्री परिषद्बाट पारित गर्नुपर्ने हुन्छ।



















