काठमाडौं,२० असार । नेपाली कांग्रेसका नेताहरुले वीर अस्पतालमाआमरण अनसनरत गंगामाया अधिकारीलाई न्याय दिलाउने विश्वास दिएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई भेटेर उनको छोराको हत्यारालाई कठघरामा उभ्याएरै छाडिने बचन दिएलगत्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उनलाई भेटेर सोही प्रकृतिको वचन दिएका थिए ।
बुधबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले गंगामायालाई आधिकारिक रुपमा भेट गरी उनको अवस्थाको बारेमा संसदमा कुरा उठाउने मनसायले अधिकारीको अवस्था बुझ्न पार्वता डि।सी चौधरी, डा। अमरेश कुमार सिंह र देवप्रसाद तिमिल्सिना रहेको टोली खटाएको थियो ।
सो टोलीले बुधबार अपरान्ह वीर अस्पताल पुगेर अधिकारीलाई भेटी उनको अवस्थाको जानकारी लिनुका अतिरिक्त उनका छोराको हत्यारालाई कारबाहीको दायरामा ल्याउने वचन दिएको छ । सांसद अमरेशकुमार सिंहले आफूहरु कांग्रेस सांसद भएको र न्याय दिलाइ छाड्ने वचन दिएका थिए ।
अर्का सांसद तिमल्सिनाले आफूहरुले संसदमा निरन्तर कुरा उठाएकाले अपराधीहरु कारबाहीको दायरामा आउने बताउदै आफ्नो स्वास्थ्यको ख्याल गंगामायालाई आग्रह गरेका थिए ।
अनसनरत अधिकारीले न्यायको लागि आवाज उठाउदै अनसनरत रहेकै अवस्थामा पति नन्दप्रसाद अधिकारीसमेत गुमाउन पुगेको दुःख सुनाएकी थिइन् ।
गोर्खा फुजेलका अधिकारी दम्पत्ति उनको किशोर छोरा कृष्णप्रसादको हत्यामा संलग्न तत्कालिन माओवादी कार्यकर्ताहरुलाई कारबाहीको माग गदैं वीर अस्पतालमा अनसन बसेका थिए । अनसन बसेकै अवस्थामा उनका पति नन्दप्रसादको देहान्त भएको थियो ।
छोराको हत्यामा संलग्न दोषिलाई कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारी पछिल्लो पटक जेठ १५ बाट अस्पतालमै आमरण अनसन बसेकी छन् ।
यसैबीच बुधबारै नेपाली कांग्रेसका युवा नेताहरु एन.पी. साउद र चन्द्र भण्डारीले पनि अनसनरत गंगामायालाई भेटेर पार्टीले उनलाई न्याय दिलाउने र कृष्णप्रसादका हत्यारा कारबाहीको दायरामा आउने वचन दिएका छन् ।