पटाया(थाईल्याण्ड),२१ असार(बीबीसी) । उत्तरी थाईल्यान्डको एउटा बाढीग्रस्त गुफामा १२ दिनदेखि फसेका बालकहरू र तिनका फुटबल प्रशिक्षकलाई त्यहाँबाट बाहिर निकाल्न प्रतिकूल मौसमसँग सङ्घर्ष गर्नुपरिरहेको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार बुधवारदेखि मौसममा केही सुधार भएकाले २४ घण्टामा जमेको पानीको सतह केही घटाउन सकिएको छ।
सफलताको सम्भावना ९० प्रतिशत हुँदा मात्रै उनीहरूलाई भित्रबाट बाहिर ल्याउन प्रयास गरिने स्थानीय अधिकारीहरूले बताएका छन्।
तर भरखरै सुरु भएको मनसुनका कारण केही दिनमै ठूलो वर्षा हुने र परिस्थिति प्रतिकूल बन्ने भएकाले उद्धारकार्य प्रभावित हुने देखिएको छ।
एघारदेखि १६ वर्ष उमेरका ती बालकहरू आफ्ना प्रशिक्षकसँग जुन २३ मा सो गुफाभित्र छिरेका थिए। वर्षाको भेलले गुफाको बाटो बन्द भएपछि उनीहरू झन् भित्र गएका र सम्पर्कविहीन बनेका अनुमान गरिएको छ।
गत सोमवार राति दुई ब्रिटिश गोताखोरले सो समूहलाई गुफाको प्रवेशद्वारबाट चार किलोमिटरभित्र नौ दिनपछि जीवितै फेला पारे।
चियाङ राईस्थित गुफा भएको क्षेत्रमा केही दिनदेखि पानी परेको छैन। तर मौसम फेरिँदा उद्धारको योजना प्रभावित हुनेछ।
“उनीहरूलाई फेला पार्नुअघि हामी समयसँग सङ्घर्ष गर्दै थियौँ। अहिले हामी पानीसँग सङ्घर्ष गर्दैछौँ,” चियाङ राईका गभर्नर नरोङ्साक ओसोथ्थानाकोले बिहीवार बिहान गरिएको पत्रकार सम्मेलनमा भने।
उनका अनुसार बालकहरूले आफ्ना परिवारसँग कुराकानी गर्न पाऊन् भनेर गुफाभित्र टेलिफोन लाइन जडान गरिँदैछ। पहिला लगिएको फोन पानीमा खसेर काम नलाग्ने भएपछि फेरि नयाँ फोन लगिएको छ।
लामै समय पानी रोकिए जोखिमपूर्ण मानिएको गोता नलगाई उनीहरू हिँडेरै वा तैरिएर गुफाबाट बाहिर आउन सक्छन्।
अहिले गुफाको प्रवेशद्वारबाट सो समूह बसेको स्थानसम्म पुग्न छ घण्टा र फर्किन पाँच घण्टा लाग्छ।
गुफाभित्र ठाउँठाउँमा पानी जमेको छ र यदि उनीहरूले गोता लगाउनु पर्ने भयो भने पौडी खेल्न सिक्नुपर्ने हुन्छ।
यदि उनीहरूले गोता लगाउन नसक्ने हुन् भने झन्डै चार महिनापछि पानीको सतह घटेपछि मात्रै ती बालकहरूलाई सुरक्षित रूपमा बाहिर ल्याउन सकिने थाई सेनाले यसअघि बताएको थियो।
त्यस परिस्थितिलाई ध्यानमा राखेर खाद्यपदार्थ र अन्य सामग्रीको व्यवस्था गरिँदैछ।
‘ब्याङ्कक पोस्ट’का अनुसार केही दिनमै वर्षा हुने पूर्वानुमान गरिएको भन्दै थाईल्यान्डका आन्तरिक मामिला मन्त्री अनुपोङ पाओजिन्डाले अलपत्र परेका सबैको तत्काल उद्धार गरिनुपर्ने कुरामा जोड दिएका छन्।
बाढीको थप जोखिम नहोस् भनेर पम्प प्रयोग गरी गुफाभित्रबाट पानी फाल्ने प्रयास गरिँदै गरेको अनुपोङले बताए।
बुधवारयता पानीको सतह ४० सेन्टिमिटरले घटेको छ।
।
उद्धारकर्मीहरू गुफाको प्रवेशद्वारबाट हिँडेर १.५ किलोमिटर भित्र रहेको ‘तेस्रो कक्ष’ भनिएको स्थानमा पुगेका छन्।
अधिकारीहरूका अनुसार बिहीवारसम्म झन्डै १३ करोड लिटर पानी बाहिर फ्याँकिएको छ।
यसो गर्दा प्रतिघण्टा १.५ सेन्टिमिटरको दरले पानीको सतह घट्दैछ।
वर्षायामदेखि सेप्टेम्बर वा अक्टोबरसम्मै गुफाहरूको त्यो सञ्जाल बाढीले प्रभावित हुने गरेको बताइन्छ।