Prakash Adhikari February 2, 2025
बैतडी, २० माघः कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्‍यो ।
जितका लागि पाएको एक सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३८ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए ।
बलिङतर्फ अत्तरियाका विवेक यादवले चार, साहव आलम र कमल गुप्ताले २/२ विकेट लिए ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो । जसमा भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७० रनमा अविजित रहे । बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु  १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । साथै प्लेयर अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा  आठ टोलीको सहभागीता रहेको छ ।
Share Now