काठमाडौं, २२ माघ । नेपालमा जारी महिला त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय श्रृखलामा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो पटक आमनेसामने हुँदै छन् । श्रृखलामा भने दुवै टोलीको यो चौथो खेल हो । नेपाल अहिलेसम्म खेलेका सबै तीन खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्ड भने श्रृखलामा खेलेका सबै ३ खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो ।
पहिलो भेटमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपाल र थाइल्याण्डबिच यस अगाडि भएका ४ वटा टी २० अन्तर्राष्ट्रियय खेलमा नेपाल सबैमा पराजित भएको थियो ।
कप्तान इन्दु बर्माको नेतृत्वमा मैदानमा उत्रिने नेपाली महिला टोलीमा बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सीता राना मगर रहेका छन् ।
थाइल्याण्डको टोलीमा नारुइमोल चाइवाई, नाट्टाया बुचाथम, नाथाकन चान्थम, नान्नापत खोन्चरोएन्क, अफिसारा सुवान्चोनरथी, चानिदा सुत्थीरुआंग, ओनिचा कामचोम्फु, रोसेनी कानोह, सुलेपोर्न लाओमी, थिपचा पुत्थावोंग, सुवानान खियाओतो, फन्नीता माया, सुनिदा चतुरोंगरत्न र नान्नाफाट चैहान रहेका छन् ।
नेपाली टोलीको बाँकी खेलतालिका
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग


















