Prakash Adhikari February 4, 2025
बेनी(म्याग्दी), २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ ।
माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उहाँले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताउनुभयो ।
 ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’– अध्यक्ष दाहालले भन्नुभयो– ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’
पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताउनुभयो । ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं’– अध्यक्ष दाहालले भन्नुभयो– ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं । हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले  सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको अभियानका कारण जनतामा आशा र भरोसा बढेको पनि उहाँले स्पष्ट गर्नुभयो ।
नेपालको असंलग्ल परराष्ट्र नीतिलाई थप मजबुत बनाउन आफूले छिमेकीदेखि अन्तर्राष्ट्रिय स्तरमा पहल थालेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो– ‘मैले भारत भ्रमण गर्दा पहिलोपटक भारतीय प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री गर्ने र भारतहुँदै बंगलादेशसम्म विद्युत विक्री ऐतिहासिक सम्झौता भयो, यी काम नेपालको इतिहासमा पहिलोपटक भएका हुन् ।’
आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठ वटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराउनुभयो ।
माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमूना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताउनुभयो । अब पार्टीले स्थानीय तहबाटै समाजवादको अभ्यास गर्ने नीति लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै तहमा सडक, सदन र सरकारबाट जनताको सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 जनताको आकर्षण बढेको छ 
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  दाहालले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताउनुभएको छ । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताउनुभयो ।
विगतका कमीकमजोरीलाई समीक्षा गरेर माओवादी केन्द्र अगाडि बढेको हुँदा वडा तहबाटै सङ्गठन राम्रो हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ । पछिल्लो समय सात वटै प्रदेशबाट माओवादी केन्द्रमा आउने नेता तथा कार्यकर्ताको सङ्ख्या ठूलो रहेको भन्दै उहाँले अब पहिलो पार्टी बन्न धेरै समय नलाग्ने दाहालले दाबी गर्नुभयो ।
पछिल्लो समय माओवादीका लागि ठूलो अवसर आएको भन्दै अध्यक्ष दाहालले सरकारलाई सही बाटोमा ल्याउन विपक्षी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेकाले  कार्यकर्ताले राम्रो कामको प्रचार गर्नुपर्नेमा उहाँको जोड छ ।
माओवादीनै परिवर्तनको वाहक भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले माओवादी सरकारले गरेका सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र भ्रष्टाचार विरोधका पक्षमा जनताको चासो रहेको हुँदा सङ्गठन निर्माणमा थोरै मेहनत गरे पार्टीलाई पहिलो बनाउन समस्या नहुने बताउनुभयो ।
पर्वतमा पनि भेटघाट
अध्यक्ष दाहाल आज नेकपा(माओवादी केन्द्र) पर्वत जिल्ला समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटकार्यक्रममा सहभागी हुनुभयो ।
उहाँले पर्वत सदरमुकाम कुस्माको लब्ली डाँडामा रहेको जिल्ला पार्टी कार्यालयमा उपस्थित अगुवा नेताकार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्नुभएको छ ।
Share Now