
टोकियो, २२ माघ (रासस/एएफपी) : जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताउनुभएको छ ।
“यदि परिस्थितिले अनुमति दिए उहाँ फेब्रुअरी ६–८ (बिहीबारदेखि शनिबार) मा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुनेछ र वासिङ्गटन डिसीमा राष्ट्रपति ट्रम्पसँग पहिलो पटक जापान–अमेरिका शिखर बैठक गर्नुहुनेछ”, हायाशीले भन्नुभयो, “यस भ्रमणमार्फत हामी नयाँ अमेरिकी प्रशासनसँग विश्वासको बलियो सम्बन्ध निर्माण गर्न र अमेरिका–जापान गठबन्धनलाई नयाँ उचाइमा पुर्याउन चाहन्छौँ ।”
निक्केई व्यापार दैनिकले इसिबाले ट्रम्पसँग अमेरिकी शेल ग्यासको आयात बढाउने विषयमा छलफल गर्न चाहेको जनाएको छ । यो राष्ट्रपतिको ‘ड्रिल, बेबी, ड्रिल’ को प्रतिज्ञासँग मेल खान्छ ।
इसिबाले नोभेम्बरमा तत्कालीन राष्ट्रपति–निर्वाचित ट्रम्पसँग छोटो टेलिफोन वार्ता गर्नुभएको थियो र जनवरीमा उहाँको शपथग्रहण अघि नै भेट्ने असफल प्रयास गर्नुभएको बताइएको थियो ।
यद्यपि ट्रम्पले डिसेम्बरमा जापानका हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेकी विधवा आकिए आबेलाई फ्लोरिडास्थित आफ्नो निवासमा मेलानिया ट्रम्पसँग निजी डिनरको आयोजना गर्नुभएको थियो ।
गत हप्ता इसिबाले क्षेत्रीय स्थिरताका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सम्बन्धको महत्त्वलाई जोड दिनुभएको थियो ।
“यस क्षेत्रमा शक्तिको सन्तुलनमा ऐतिहासिक परिवर्तन आएको छ, हामीले जापान–अमेरिका सहयोगलाई ठोस रूपमा अझ गहिरो बनाउनुपर्छ”, इसिबाले संसद्लाई भन्नुभयो, “शक्ति रिक्तताले क्षेत्रीय अस्थिरतातर्फ नडोर्याओस् भन्नका लागि यस क्षेत्रप्रति अमेरिकी प्रतिबद्धता सुनिश्चित गर्न जारी राख्नुपर्छ ।”
उहाँको टिप्पणीले एसिया–प्यासिफिकमा चीनको सैन्य निर्माण र ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिहरूमा तनावलाई जोड दिन्छ, जसमा जापान जस्ता सहयोगी राष्ट्रहरूलाई रक्षा खर्चको ठूलो हिस्सा बेहोर्न लगाउने माग पर्न सक्छ ।
जापान र संयुक्त राज्य अमेरिका प्रमुख रक्षा सहयोगी र एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् ।
डिसेम्बरमा पनि इसिबा अघि जापानी प्रविधि लगानीकर्ता सफ्टब्यांकका प्रमुख मासायोशी सन ट्रम्पका साथमा संयुक्त राज्य अमेरिकामा एक खर्ब डलरको लगानी घोषणा गर्न उभिनुभएको थियो ।
सनले ट्रम्पको शपथग्रहणमा पनि भाग लिनुभएको थियो । त्यसपछि सफ्टब्यांकले क्लाउड दिग्गज ओराकल र च्याटजिपिटी–निर्माता ओपनएआईसँग मिलेर संयुक्त राज्य अमेरिकामा एआई पूर्वाधार निर्माण गर्न पाँच खर्ब डलरको स्टारगेट परियोजनाको नेतृत्व गर्ने घोषणा गर्नुभयो ।
त्यसपछि सोमबार साँझ सन र ओपनएआई प्रमुख साम अल्टम्यानले इसिबालाई भेट्नुभयो र ‘स्टारगेटलाई जापानमा विस्तार गर्ने’ बारेमा छलफल गरेको सनले पछि पत्रकारहरूलाई बताउनुभयो ।
“हामी अत्याधुनिक एआई पूर्वाधार निर्माण गर्न चाहन्छौँ, मेरो मतलब विश्वकै सबैभन्दा ठूलो, अत्याधुनिक एआई डाटा केन्द्रहरू हो”, सोनले थप विवरण नदिई भन्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिनुभएको थियो ।
जनवरी २७ को कुराकानीमा ट्रम्पले आप्रवासनको बारेमा कुरा गर्नुभयो भने भारतले थप अमेरिकी–निर्मित सुरक्षा उपकरणहरू किन्ने र द्विपक्षीय व्यापारिक सम्बन्धको महत्त्वमा जोड दिनुभयो ।
“दुई नेताले सहकार्य विस्तार र गहिरो बनाउने विषयमा छलफल गर्नुभएको छ, उहाँहरूले इन्डो–प्यासिफिक, मध्यपूर्व र युरोपको सुरक्षासहित विभिन्न क्षेत्रीय मुद्दामा पनि छलफल गर्नुभएको छ”, वार्तापछि ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ, “राष्ट्रपतिले भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्ने महत्त्वलाई जोड दिनुभयो ।”
नेताहरूले प्रधानमन्त्री मोदीको ह्वाइट हाउस भ्रमणको योजना र इन्डो–प्यासिफिक क्वाड साझेदारीको बारेमा पनि छलफल गर्नुभयो । भारतले यस वर्ष पहिलो पटक क्वाड नेताहरूको आतिथ्यता गर्दैछ ।
विशेष गरी दुई देशको महत्त्वपूर्ण व्यापार सम्बन्ध छ । द्विपक्षीय व्यापार सन् २०२३–२४ मा एक खर्ब १८ अर्ब अमेरिकी डलर नाघेको छ र भारतले ३२ अर्ब अमेरिकी डलरको व्यापार बचत हासिल गरेको छ ।
चीनको प्रतिरोध गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार भारत अमेरिकासँग व्यापारिक सम्बन्ध बढाउन र आफ्ना नागरिकहरूलाई कुशल श्रमिक भिसा प्राप्त गर्न सहज बनाउन उत्सुक छ ।
प्रधानमन्त्री मोदी ट्रम्पलाई पुनः निर्वाचित भएकोमा बधाई दिने पहिलो नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएकोमा साथै कङ्ग्रेसको चुनावमा रिपब्लिकन पार्टीको सफलताका लागि बधाई दिँदै नोभेम्बर ६ मा उहाँसँग टेलिफोन कुराकानी पनि गर्नुभएको थियो ।
प्रधानमन्त्री मोदी र ट्रम्पबीच न्यानो र मैत्रीपूर्ण सम्बन्ध छ । दुई नेताबीचको यो मैत्रीपूर्ण सम्बन्धले विभिन्न वैश्विक मुद्दाहरूमा भारत र अमेरिकाको एकजुटता देखाएको छ ।
यो भ्रमण भारत फिर्ता पठाइने आप्रवासीहरू बोकेको एक अमेरिकी सैन्य विमान उडेको केही घन्टापछि आउँदैछ । यो ट्रम्प प्रशासन अन्तर्गत यस्ता उडानहरूको सबैभन्दा टाढाको गन्तव्य हो ।
रोयटर्सका अनुसार अमेरिकी उत्पादनहरूमा भारतको उच्च शुल्कलाई उद्धृत गर्दै ट्रम्पले विगतमा धम्की दिएको शुल्कबाट बच्न पनि भारत उत्सुक छ ।