Prakash Adhikari February 4, 2025

 

पोखरा(कास्की), २२ माघ । आजदेखि सुरु भएको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा  आयोजक सहारा क्लब पोखरालाई १ -० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए ।

उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार सिधै गोलमा परिणत भयो। त्यहि गोल खेलको निर्णायक बन्यो। जितसँगै पुलिस अन्तिम क्वाटरफाइनलमा मा पुगेको छ। सहारा प्रतियोगिताबाट नै बाहिरिएको छ।

पहिलो हाफको सुरुवातमा दबाब बनाएको सहारा फिनिसिङमा चुक्न पुग्यो। पाचौँ मिनेटमा विलियम सेसेनोङको प्रहार पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीले बचाए। १२ औं मिनेटमा सहाराका कप्तान सुशील लामाको प्रहार पनि बिफल भयो।

१७ औं मिनेटमा पुलिसका विवेक पाण्डेको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। २१ औँ मिनेटमा पुलिस क्लबका विवेकको फ्रि किक प्रहार सहाराका गोलरक्षक सन्तोष महतले बचाए।

खेलको ५६ मिनेटमा सहाराका कप्तान सुशीलको प्रहार पुलिसका गोलरक्षकले पन्च गर्दै रोके । पुलिस क्वार्टरफाइनलमा २६ गते ब्रिगेड ब्वाईज क्लब युकेसँग खेल्नेछ।

प्रतियोगितामा बुधवार पूर्व विजेता एपिएफ फुटबल क्लब र मछिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ।

पोखरा महानगरपालिकालकस मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको प्रतियोगितामा विदेशी ३ सहित १२ टोलीको सहभागिता रहेको छ।

विजेताले १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्नेछन्।

Share Now