Prakash Adhikari February 5, 2025

-लरा बीकर
चीन सम्वाददाता

बेइजिड.(चीन), २३ माघ(बीबीसी) । अमेरिकाले सबै चिनियाँ वस्तुमा लगाएको अतिरिक्त १० प्रतिशत आयात शुल्कका कारण यदि चीन रिसाइरहेको छ भने पनि उसले त्यो रिस देखाइरहेको छैन।

जबकी क्यानडा र मेक्सिकोले अमेरिकाका त्यस्तै कदमविरुद्ध बदलाका कारबाही गर्ने धम्की दिइसके। क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले करिब १०० अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमाथि २५ प्रतिशतको शुल्क लगाइदिने बताएका थिए।

ती दुवै देशसँग अन्तिम समयमा भएका सहमतिपश्चात् राष्ट्रपति ट्रम्पले ती देशका आयातमा लगाउने भनिएको शुल्कमा अस्थायी बिराम लगाएका छन्। तर चीनमाथिको शुल्क चाहिँ मङ्गलवारदेखि कार्यान्वयन हुने भनिएको छ।

बेइजिङले – अहिलेसम्म – कुनै चर्को प्रतिक्रिया दिएको छैन।

सन् २०१८ मा डोनल्ड ट्रम्पले चिनियाँ आयातविरुद्ध चरणबद्ध शुल्क लगाउन थाल्दा बेइजिङले आफू ‘व्यापार युद्ध’बाट नतर्सने बताएको थियो। तर यसपालि उसले अमेरिकालाई वार्ताको आह्वान गर्दै मिलनबिन्दु पहिल्याउन अनुरोध गरेको छ।

त्यसो भन्दैमा अमेरिकाको पछिल्लो घोषणाले चीनलाई असर गर्दैन भन्ने कदापि होइन। गर्छ, अझ यो १० प्रतिशत भनेको त पहिले नै बढाइसकेको शुल्कमाथि लाग्ने हो जुन ट्रम्पको पहिलो कार्यकालको समयमा अमेरिकाले दशौँ अर्ब डलर बराबरका चिनियाँ आयातमा लगाइदिएको थियो।

शिथिल भइरहेको अर्थतन्त्रले चिन्तित आफ्ना जनतालाई थप निराश नतुल्याउन सायद चिनियाँ सरकारले चर्को प्रतिक्रिया जनाइरहेको छैन।

तर त्यो अर्थतन्त्र विगतमा जस्तो अमेरिकामा धेरै निर्भर चाहिँ छैन। बेइजिङले अफ्रिका, दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियामा उसको व्यापार सम्झौताहरूको निकै विस्तार गरेको छ। संसारका १२० भन्दा धेरै देशहरूका निम्ति चीन तिनका सबभन्दा ठूलो व्यापारिक साझेदार मुलुक बनिसकेको छ।

त्यसैले उक्त अतिरिक्त १० प्रतिशत आयात शुल्कले ट्रम्पले चाहेजस्तो प्रभाव नपार्न सक्ने कार्नजी चीनका चङ् या इयानले बताउनुभयो ।

“१० प्रतिशत शुल्क सहन सकिन्छ भन्ने चीनले सोच्नेछ। त्यसैले मेरो विचारमा चीन शान्त देखिन्छ। किनभने यदि त्यसले धेरै हानि गर्दैन र बेइजिङलाई खासै फाइदा छैन भने किन बेकारमा ट्रम्प प्रशासनसँग झगडा गर्नु (भन्ने उनीहरूको सोचाइ हुन सक्छ)।”

अमेरिका पछि हट्दा सीलाई फाइदै फाइदा

राष्ट्रपति सी जिन्पिङ बेखुसी नहुनुमा अर्को पनि कारण हुन सक्छ: उहाँले नयाँ अवसर देखेको हुन सक्नुहुन्छ ।

ट्रम्पले आफ्नै छरछिमेक तथा निकट साझेदारहरूमा विभाजन निम्त्याउनुभएको छ । प्रशासन सम्हालेको एक साता नबित्दै उहाँले युरोपेली युनियनलाई समेत आयात शुल्क लगाइदिने चेतावनी दिइसक्नुभयो। उहाँका क्रियाकलापले अमेरिकाका अन्य साझेदार मुलुकहरू पनि चिन्तित भइसके।

तर चीनले चाहिँ आफूलाई शान्त, स्थिर अनि सायद थप आकर्षक विश्वव्यापी व्यापारिक साझेदारको रूपमा उभ्याउन चाहन्छ।

“ट्रम्पको अमेरिका-पहिले भन्ने नीतिले विश्वका लगभग सबै देशका निम्ति अवसर तथा चुनौती ल्याउनेछ”, स्टिमसन सेन्टरका चीन कार्यक्रम निर्देशक युन सनले भन्नुभयो, “अमेरिका(चीन रणनीतिक प्रतिस्पर्धाको दृष्टिकोणबाट हेर्दा अमेरिकी नेतृत्व तथा विश्वासको क्षयीकरणले चीनलाई फाइदा पुग्छ। सायद द्विपक्षीय तहमा यसले चीनको निम्ति फाइदा नगर्ला, तर बेइजिङले यो अवसर छोप्न खोज्नेछ ।’

विश्वको दोस्रो ठूलो अर्थतन्त्रको नेताको हैसियतमा सीले वैकल्पिक विश्व व्यवस्थाको अगुवाइ गर्ने आफ्नो महत्त्वाकाङ्क्षा छिपाउनुभएको छैन ।

कोभिड महामारीको अन्त्य भएयता उहाँले संसारभरि धेरै भ्रमण गर्नुभयो। सीले विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय संस्थाहरू एवं प्यारिस सम्झौताजस्ता विश्वप्यापी जलवायु अभियानलाई समर्थन गर्नुभयो।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले यी गतिविधिलाई विश्वभरिका देशहरूलाई सहयोग गर्ने एवं कूटनीतिक सम्बन्ध सुदृढ पार्ने कार्यका रूपमा व्याख्या गरेका छन्।

जब सन् २०२० मा ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकी सहयोग रोकिदिनुभयो, तब चीनले उक्त निकायलाई थप सहयोग गर्ने घोषणा गर्‍यो। वाशिङटनले पुनः डब्ल्यूएचओबाट हात झिकिरहँदा उसको सहयोगका लागि फेरि चीन अघि सर्ने अपेक्षा बढेका छन्।

अमेरिकाले उसका सहयोगमा निर्भर देश तथा संघसंस्थाहरूमा उथलपुथल मच्चिने गरेर सबै सहयोग रोक्काको घोषणा गरेको छ। सायद यहाँ पनि चीनले खाली ठाउँ भर्ने इच्छा गर्न सक्छ भलै उसको आफ्नै अर्थतन्त्र अहिले समस्यामा छ।

कार्यभार सम्हालेको पहिलो दिन ट्रम्पले अमेरिकाले दिँदै आएको सबै वैदेशिक सहयोग रोक्का गर्नुभयो। अमेरिका विश्वको नम्बर एक वैदेशिक सहयोग दिने राष्ट्र हो। अमेरिकी सहयोग नियोग यूएसएआइडीले दिँदै आएका सयौँ वैदेशिक सहयोगका कार्यक्रम ठप्प भएका छन्। उक्त निकायको भविष्य नै अनिश्चयमा परेका बेला सहयोग कार्यक्रम सञ्चालन गर्ने कैयन् संस्थाहरूमा अहिले हलचल भइरहेको छ।

आधुनिक चीनसम्बन्धी इतिहासकार तथा सोलस्थित योनसेइ विश्वविद्यालयका प्राध्यापक जोन डेल्युरी भन्नुहुन्छः ट्रम्पको अमेरिका पहिले भन्ने नीतिले वाशिङटनको विश्व नेताको हैसियत कमजोर हुन जान्छ।

“महत्त्वपूर्ण व्यापारिक साझेदारहरूलाई आयात शुल्क लगाउने अनि सम्पूर्ण वैदेशिक सहायता रोक्ने जस्ता कदमले ग्लोबल साउथ (विकासोन्मुख देशहरू) तथा ‌ओईसीडी (अर्गनाईजेशन अफ इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेण्टका सम्पन्न देशहरू) दुवैलाई के सन्देश जान्छ भने अब अन्तर्राष्ट्रिय साझेदारी तथा सहयोगमा अमेरिकाको रुचि छैन”,उहाँले भन्नुभयो, “यस परिप्रेक्ष्यमा जब अमेरिका विश्व मञ्चबाट पछि हट्दैछ, तब ुसबैलाई फाइदाु हुने विश्वव्यापीकरण भनेर राष्ट्रपति सीले बारम्बार दिँदै आएको सन्देशले नितान्त बेग्लै अर्थ राख्छ।”

विश्व नेतृत्वको होडबाजीमा बेइजिङले अमेरिकी नेतृत्वको गत ५० वर्षको विश्व व्यवस्था पल्टाइदिने अवसर खोज्दै आइरहेको थियो – सायद ट्रम्पको दोस्रो कार्यकालले निम्त्याउने अनिश्चयताले त्यो अवसर दिनेछ।

नयाँ साझेदारी

“तर यो सबै घटनाले बेइजिङलाई फाइदा पुगिहाल्छ भन्नेमा चाहिँ म पूरै विश्वस्त छैन,ू चङ्ले भन्नुभयो, ूखासगरी प्रशान्त क्षेत्रका कैयन् अमेरिकी सहयोगी तथा साझेदार देशहरूसँग बेइजिङसँग मिलेर काम गर्ने कारण पनि छन् र बेइजिङसँग तर्सनु पर्ने कारण पनि छन्। त्यसैले जापान, दक्षिण कोरिया, फिलिपिन्स र अस्ट्रेलियामाझ निकटता बढिरहेको देखिन्छ। त्यसको एउटा कारण उनीहरूको चीनप्रति रहेको साझा संशय नै हो।ू

द अस्ट्रेलियन इन्स्टिट्यूट अफ इन्टर्न्याशनल अफेअर्सका अनुसार ट्रम्पको दोस्रो कार्यकालको प्रभावका कारण अस्ट्रेलिया, दक्षिण कोरिया र जापान सम्भावित त्रिपक्षीय सहमतितर्फ अग्रसर देखिन्छन्।

दक्षिणी चिनियाँ सागरमा चीनको विस्तारित सक्रियताका कारण यी तीन देश र फिलिपिन्स चिन्तित छन्। साथै स्वशासित टापु देश ताइवानमा हुन सक्ने सम्भावित युद्धले पनि उनीहरूको चिन्ता बढिरहेको छ। बेइजिङले ताइवानलाई आफ्नै विद्रोही प्रान्त ठान्छ र भविष्यमा मातृभूमिसँग जोडिने बताउँछ। त्यसको निम्ति आफूले बल प्रयोग गर्नुपर्ने स्थिति समेत आउन सक्ने सङ्केत उसले दिइसकेको छ।

अमेरिका-चीन सम्बन्धमा ताइवान सबभन्दा विवादितमध्ये एक विषय रहँदै आएको छ। वाशिङटनले ताइपेइलाई दिने कुनै पनि समर्थनको बेइजिङले निन्दा गर्दै आएको छ।

तर जब ट्रम्प स्वयंले क्यानडालाई अमेरिकामा गाभ्ने अनि ग्रीनल्यान्डलाई किन्ने जस्ता धम्की बारम्बार दिइरहनुभएको छ, तब अमेरिकालाई (ताइवानलाई लिएर) चीनको आक्रामकताको प्रतिक्रिया दिन कठिन हुनेछ।

यस क्षेत्रका धेरै देशहरूले चीनसँगको तिनका आर्थिक सम्बन्धलाई सन्तुलनमा राख्न अमेरिकासँगको सैन्य सम्बन्धको उपयोग गर्दै आएका छन्।

तर अब बेइजिङसँगको संशय अनि अमेरिकाप्रतिको अनिश्चयले नयाँ एसियाली साझेदारी विकास हुन सक्छ,  विश्वका दुवै सबभन्दा शक्तिशाली देशहरूलाई बाहेक गरेर।

आँधी आउनु अगाडिको सन्नाटा

ट्रम्पले सप्ताहान्तमा नयाँ आयात शुल्कहरूको घोषणा गर्दा चिनियाँ परिवारहरू घर(घरमा नयाँ वर्षको उत्सव र बिदा मनाउँदै थिए।

हिजोआज बेइजिङका रित्ता सडकहरूमा परम्परागत राता ल्यान्टर्न झुन्डिइरहेका छन्। अधिकांश कामदारहरू वर्षको सबभन्दा ठूलो बिदा मनाउन घर गाउँतिर गएका छन्।

ट्रम्पको कदमविरुद्ध क्यानडा र मेक्सिकोले दिएको प्रतिक्रियाभन्दा चीन निकै शान्त देखिएको छ। त्यहाँको वाणिज्य मन्त्रालयले विश्व व्यापार सङ्गठनमार्फत् कानुनी उपचार खोजेर आफ्ना गुनासो पोख्ने बताएको छ।

तर यसले वाशिङटनलाई खासै फरक पर्दैन। डब्ल्यूटीओभित्रको विवाद समाधान संयन्त्र सन् २०१९ देखि नै निष्क्रिय भइसकेको छ। आफ्नो पहिलो कार्यकालका बेला ट्रम्पले उक्त संयन्त्रमा न्यायाधीशहरूको नियुक्ति नै रोकिदिनुभएको थियो।

चीनमा बिदा सकिन लाग्दा र अधिकारीहरू कामकाजका लागि राजधानी फर्किएपछि– अब तिनले पनि निर्णय लिनु पर्ने हुन्छ।

गत महिना दुई देशका नेताहरूबीच भएको फोन वार्ता – जसलाई ट्रम्पले निकै राम्रो भनेर प्रचार गर्नुभयो – पश्चात् द्विपक्षीय सम्बन्ध स्थिर राख्न चाहेको ट्रम्पका सङ्केतहरूले चिनियाँ अधिकारीहरू उत्साहित भएका छन्।

तत्कालका निम्ति चीन शान्त रहेर वाशिङटनसँग थप शुल्क नलाग्ने गरी कुनै सहमतिमा पुग्न चाहन्छ ताकि विश्वका सबभन्दा ठूला दुई अर्थतन्त्रबीचको सम्बन्ध अनियन्त्रित ढङ्गले नबिग्रियोस्।

Share Now