कीर्तिपुर(काठमाडौं), २४ माघ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भैरहेको त्रिकोणात्मक महिला टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखलामा आज थाइल्याण्ड र नेदरल्याण्डेस् भिड्दै छन् ।
भर्खर सम्पन्न टसमा थाइल्याण्डले जितेको छ । उसले पहिले ब्याटिड. गर्ने निर्णय लिएको छ ।
अहिलेसम्मका खेलमा अपराजित रहेको थाइल्याण्ड एक खेल पहिले नै उपाधि जित्ने दाउमा छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा पाँचौ जित निकाल्दै थाइल्याण्ड श्रृखला जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो ।
नेदरल्याण्ड्सलाई भने उपाघि सम्भावना कायमै राख्न यस खेलमा जित अत्यावश्यक रहेको छ । नेदरल्याण्ड्सले तीन खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो । अघिल्ला दुवै भेटमा नेदरल्याण्ड्स थाइल्याण्डसँग पराजित भएको थियो । आज दुवै टिम तेस्रो पटक आमने सामने हुदै छन् ।
नेपाल श्रृखलामा नेदरल्याण्ड्स र थाइल्याण्डको अलावा घरेलु टोली नेपालको पनि सहभागीता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले आफ्नो तथा श्रृखलाको अन्तिम खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ ।


















