Prakash Adhikari February 7, 2025

 

पोखरा(कास्की), २६ माघ । भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा१रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।

दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ।

मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता लियो । तालाले ३४ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गर्दैै थन्डरबोल्टलाई खेलमा फर्किएका हुन् ।
दोस्रो हाफमा करण राई र आर्दश तामाङले गोल गरे ।

७७ औं मिनेटमा करणले गोल गर्दैै थन्डरबोल्टलाई अघि बढाए । खेल सकिन एक मिनेट बाँकी रहँदा आदर्शले दर्शनीय गोल गर्दैै थन्डरबोल्टलाई जितको हकदार बनाए ।

संकटा खेलाडीले छुटाएको बललाई नियन्त्रण लिएर आदर्शले मध्ये भागको केहि अगाडि गरेको प्रहार गोलमा परिणत भएको छ। संकटाका गोलकिपर दीप कार्कीले रोक्ने मौकै पाएनन्।

योसँगै तीन वटा पूर्व विजेता टोली यसपटक बाहिरिसकेका छन् । आयोजक सहारा क्लब, एपिएफ र संकटा बाहिरिसकेका छन् ।

थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ। ब्ल्याक बुल्स शुक्रवार काठमाडौं आइपुगेको छ ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिवार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबिच हुनेछ।

Share Now