Prakash Adhikari February 8, 2025

 

धनगढी(कैलाली), २६ माघ । कुशल भूर्तेलको अलराउन्ड प्रदर्शनले निरन्तरता पाउँदा फ्रेन्ड्स युथ क्लब डडेलधुरा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

नेपाली राष्ट्रिय टोलीका ओपनिङ ब्याटर कुशलको अलराउन्ड प्रदर्शनमा डडेलधुराले शनिबार न्यु होराइजन बुटवललाई ५ विकेटले पराजित गरेको हो ।

न्यु होराइजन बुटवलले दिएको ८३ रनको सामान्य लक्ष्य फ्रेन्ड्स युथ क्लब डडेलधुराले १५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । डडेलधुराको जितमा ओपनर कुशलले सर्वाधिक ४६ रन जोडे । उनले २६ बलमा ६ चौका र २ छक्कका प्रहार गरे । अर्का ओपनर आयुष्मान बमले १६ रन बनाए ।

कप्तान सन्दीप जोरा ६ र किरण ठगुन्ना ८ रनमा नट आउट रहे ।

होराइजनका लागि प्रिन्स पालले ३ , महेश भार र निर्मल गुरुङले समान १ / १  विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको होराइजन १६.१ ओभरमा ८२ रनमा समेटिएको थियो ।

होराइजनका लागि आरिफ खानले १६ बलमा सर्वाधिक २० रन जोडे । दिपक डुम्रे १८ र निश्चल ज्ञवाली १४ रनमा आउट भए । होराइजनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डडेलधुराका लागि कुशलले ३।१ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अजय चौहानले ३ , हेमन्त धामी र अशोक धामीले समान १ विकेट लिए ।

प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।

 

Share Now