Prakash Adhikari February 9, 2025

 

पोखरा(कास्की), २७ माघ । २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ।

खेल पोखरा रंगशालामा खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो।

मच्छिन्द्र भने पहिलो खेलमा पूर्व विजेता एपीएफ फुटबल क्लबलाई २-० ले पराजित गरेर क्वाटरफाइनल पुगेको हो ।

थ्री स्टार यो सिजन पहिलो खेल आज खेल्दैछ। मच्छिन्द्रले भने १० दिन अघि काठमाडौंमा भएको सभापति कपमा सेमिफाइनल खेलेको थियो। त्यहाँ पनि पहिलो खेलमा एपीएफलाई हराएको मच्छिन्द्र सेमिफाइनलमा संकटासँग पराजित भएको थियो।

थ्री स्टार आहा सर्वाधिक सफल टोलीको दोस्रो स्थानमा छ । मच्छिन्द्र भने अहिले सम्म आहा राराको फाइनल पुग्न सकेको छैन। मच्छिन्द्र विदेशी, राष्ट्रिय टोलीका सदस्य र अनुभवी खेलाडीसहित सन्तुलित टोली हो।

थ्री स्टार नयाँ संरचनासहित अघि बढेको छ । त्यसमा केहि विदेशी, युवा र केहि अनुभवी खेलाडी छन्।

२०६३ मा पहिलो पटक आहा रारा जितेको थ्री स्टार पछिल्लो पटक २०७५ च्याम्पियन बनेको थियो। २०६७, २०६९ र २०७१ मा पनि थ्री स्टार विजेता बनेको थियो।

गत वर्षको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित थ्री स्टार २०६५,२०६६,२०७४ को संस्करणमा पनि उपविजेता बनेको थियो। आहा रारामा थ्री स्टार भन्दा बढी नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबले समान ६ पटक उपाधि जितेका छन्।

आहा रारा गोल्ड कपसंंकटाले दुई पटक जितेको छ भने अफ्रिकन युनाइटेड, आयोजक सहारा, एपीएफ र आर्मीले एक एक पटक उपाधि जितेका छन्।

Share Now