![](https://aashanews.com/wp-content/uploads/2025/02/Wash-Campaign-1.jpg)
काठमाडौँ, २८ माघः खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न पहिल गरिने बताउनुभएको छ ।
खानेपानी मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री यादवले भन्नुभयो, “वास सेवाको सशक्तीकरणका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको केन्द्रीयस्तरबाट कार्यान्वयन गराउने गरी प्रतिबद्धता व्यक्त गर्छु । साथै, सरकारको राष्ट्रिय प्राथमिकतामा पार्नका लागि पहल गर्नेछु ।”
उहाँले राजनीतिक दल, सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले एकताबद्ध भएर लिखित प्रतिबद्धता जनाए वास सेवा सुधारमा ठोस उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री यादवले यसका लागि तीनै तहका सरकारबीच सहकार्य मजबुत बनाउन नगरपालिका सङ्घ, राष्ट्रिय गाउँपालिका महासङ्घलगायतका संस्थाहरूसँग सहकार्य गर्दै नीति तथा रणनीतिहरू परिमार्जन गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशका खानेपानीसँग जोडिएका मन्त्री, नगरपालिका सङ्घ, राष्ट्रिय गाउँपालिका महासङ्घका प्रतिनिधिसँग छलफल भएको थियो । छलफलका क्रममा सहभागीहरूले सुरक्षित खानेपानी तथा सरसफाइका लक्ष्यहरू हासिल गर्न सबैले एकताबद्ध भएर काम गर्नुपर्ने र वास सेवालाई सुरक्षित, सबल, तथा समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशकी खानेपानीमन्त्री विजया बुढा, सङ्घीय खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठ, सातवटै प्रदेशका सचिवहरू, उपमहानिर्देशक रामचन्द्र काफ्लेलगायतको उपस्थिति रहेको थियो ।