![](https://aashanews.com/wp-content/uploads/2025/02/Rangi-Press-Meet.jpg)
काठमाडौँ, २८ माघः बालकलाकार हुँदै अभिनय सुरू गर्नुभएका अभिनेता सलोन बस्नेत अब निर्माता हुनुभएको छ ।
आज यहाँ चलचित्र ‘रङ्गी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा भेटेको एक भिडियोले आफूलाई चलचित्र निर्माण गर्न प्रेरित गरेको बताउनुभयो ।
‘रङ्गी’ मा बुबाको सङ्घर्ष र त्यागलाई देखाइएको उहाँले जानकारी दिनुभयो । बुबाको अव्यक्त प्रेमलाई चलचित्रमा देख्न पाइने बस्नेतले बताउनुभयो । निर्माताको रूपमा पहिलो चलचित्र भएकाले आफ्नो लागि यो सधँै खास रहने अभिनेता बस्नेतको भनाइ छ ।
“म चलचित्रकै माध्यमले चिनिएँ, बालकलाकारदेखि चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ,”, अभिनेता बस्नेतले भन्नुभयो ।
यसै चलचित्रमार्फत सन् २०२२ कि मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा ‘डेब्यु’ गर्नुभएको छ । उहाँले आफ्नो बाल्यकालदेखि कै अभिनेत्री बन्ने सपना पूरा भएको बताउनुभयो ।
चलचित्रमा विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल, सुमिन गुरुङलगायतले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत सुरेश न्यौपानेले पनि निर्देशनमा डेब्यु गर्नुभएको हो ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरको कथा, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको सङ्गीत छ भने बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ ।
—