Prakash Adhikari March 8, 2025

इलाम, २४ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको आज फाइनल खेल हुँदैछ । उपाधिका लागि नेपाल आर्मीको त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब भिडदै छन् ।

इलामको ठूलो टुडिखेलमा शुक्रवार भएको प्री म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले टिम फाइनलको लागि तयार रहेको र उपाधि जित्ने दावी गरे ।

आर्मीले पहिलो खेलमा साविक विजेता भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनल पुगेको थियो।

भारतीय क्लबलाई १४(१ ले हराएको यात्रा सुरु गरेको‌ एपीएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबमाथि १(० को जित निकालेको थियो।

एपीएफको पहिलो रोजाइमा राष्ट्रिय टोलीमा रहेका १० खेलाडी छन् । गोलकिपर एन्जिला तुम्बापो सुब्बा र सावित्रा भण्डारी ‘साम्बा’ विना पनि एपीए राष्ट्रिय टोली जत्तिकै छ ।

एपीएफको तुलनामा आर्मीमा राष्ट्रिय टोलीको खेलाडीको संख्या कम छ। घरेलुु फुटबलमा आर्मीमाथि एपीएफ हाबी हुँदै आएको छ।

आर्मी माथि हाबी भएको एपीएफलाई इलामको मैदानमा हराउने रणनीतिमा उत्रने आर्मीका प्रशिक्षक कृष्ण सिंह टुङ्नाले बताउनुभयो ।

उहाँले चिरपरिचित प्रतिस्पर्धी भएकाले पनि एपीएफको खेल थाहा भएको र अझ इलामे दर्शकको साथले उत्साहका साथ जित्ने दाबी गर्नुभयो।

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनल रोचक हुने बताउनुभयो। परिचित विपक्षी टोली भएकोले सहज हुने र इलामको मैदान पनि अभ्यस्त भएकोले फाइनल समस्या नहुने पाण्डेको विश्वास छ।

आर्मीकी कप्तान सुनिता चौधरीले दर्शकको साथ र हौसलाले खेल्न सहज हुने बताउनुभयो। एपीएफकी कप्तान अनिता बस्नेतले इलामको जस्तो माया गर्ने दर्शक अन्त कतै नदेखेको बताउनुभयो ।

आर्मीले फाइनलमा राष्ट्रिय टोली डिफेन्डर विमला बिके, पूर्व राष्ट्रिय खेलाडी शर्मिला थापा , राष्ट्रिय टोली स्ट्राइकर विमला चौधरी, गोलकिपर अञ्जना राना मगर, चन्द्रा भण्डारी, अञ्चली वाइबा हेमा चौधरी, सुनिता चौधरी लगायत प्लेइङ सेटमा मैदान उतार्ने छ ।

एपीएफले प्रीति राई, निशा थोकर,अनिता केसी, अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, गीता राना, सविता राना मगर, गोलकिपर सावित्री किसन, रेनुका नगरकोटी, सरु लिम्बू, मनमाया दमाईलाई खेलाउने सम्भावना छ।

विजेता टोलीले ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

Share Now