Prakash Adhikari March 12, 2025
काठमाडौँ, २७ फागुनः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलवार  विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।
काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उहाँले बताउनुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकांश क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिनुभयो । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताउनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का महासचिव रोशन मगरका अनुसार सङ्गठनले अधिकांश क्याम्पसमा मंगलवार उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।
कृष्णबैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भट्ट
 शुक्लाफाटाँ नगरपालिका–१० झलारीमा रहेको कृष्णबैजनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा करनप्रसाद भट्ट चयन हुनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घका भट्ट सर्वसम्मतिका आधारमा अध्यक्षमा चयन हुनुभएको हो । साथै सचिवमा अखिल क्रान्तिकारीका मनिषा धानुक, कोषाध्यक्षमा अनेरास्ववियुका प्रवीन धामी सर्वसम्मत रुपमा चयन हुनुभएको क्याम्पस प्रमुख भवराज निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्ववियुको सदस्य पदमा नेपाल विद्यार्थी सङ्घका सङ्गीता भट्ट, हेमराज भट्ट, अखिल क्रान्तिकारीका मोहन बोहरा, गणेश पन्त र अनेरास्ववियुका मञ्जु औजी सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।  उपाध्यक्षमा भने पछि निर्णय गरिने जनाइएको छ ।
सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी
 दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।
नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम चौधरीले जानकारी दिनुभयो । सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध हुनुभएको छ ।
सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आचार्य
यहाँस्थित सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित हुुनुभएको छ ।
चार वटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलबार आचार्य सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित हुनुभएको जनाइएको छ  । क्याम्पसमा हाल १८० विद्यार्थी छन् ।
Share Now