Prakash Adhikari March 13, 2025
काठमाडौं, २९ फागुन । फागु पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री के.पी. शर्मा ओलीले देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

वसन्त आगमनको अवसरमा सबै अधिकांश वनस्पतिहरुमा फूल लागेर सुरम्य बनेको वातावरणमा मनाइने फागु पर्वले हरेक व्यक्तिको मनमा उल्लास र उमंग सिर्जना गर्दै सबैमा आपसी सद्भाव,समन्वय र सहकार्यको संस्कृति विकास गर्ने विश्वास उहाँहरुले व्यक्त गर्नुभएको छ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भन्नुभयो । उहाँले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।
होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव
काठमाडौँ, २९ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
“फागु पर्वका अवसरमा तयार पारिने विशेष परिकार मालपुवा, दालपुरी, खिरलगायत मिठा–मिठा व्यञ्जन सामूहिक रूपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज हो, यसको संरक्षण र सम्वर्द्धन गर्न जरूरी छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।
आपसी कटुता, मतभेद, क्लेश, मनमुटाव र मनोमालिन्य बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नवीकरण गर्दै थप उचाइमा पु¥याउन होली एउटा उत्तम माध्यम भएको उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले फागु पर्वले नयाँ पिँढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसमा र त्यसको भोलिपल्ट तराई–मधेसमा फागुपूर्णिमा, होली, होरी, फगुवा, रङपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रहिआएको छ । होली पर्व विभिन्न नामबाट मनाइए पनि यसको सारतत्व आपसी सद्भाव, भाइचारा र मेलमिलापका साथ खुसी साटासाट गर्नु नै हो । प्राचीनकालमा चन्दन र अबिर लगाएर होली मनाइने गरिएकामा पछिल्ला केही वर्षयता कृत्रिम र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने रङहरूको प्रयोग बढ्नु राम्रो नभएको उपराष्ट्रपति यादवको भनाइ छ ।
“मौलिक वाद्य उपकरण डम्फु र ढोलकको तालमा गाइने लोकभाका र परम्परागत होरी गीत र जोगिरा नेपाली संस्कृतिको मौलिक पहिचान हो, यसको जगेर्ना गर्न सक्नुपर्दछ”, उहाँले भन्नुभएको छ,“होली राष्ट्रिय एकता र समरसताको प्रतीक हो, यो पर्व धर्म, जाति र क्षेत्रभन्दा माथि उठेर एकैसाथ र सामूहिक रूपमा मनाइनुले राष्ट्रिय एकता बलियो हुनेछ ।”
प्रधानमन्त्री ओलीद्वारा फागुपूर्णिमाको  शुभकामना
काठमाडौँ, २९ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको हो ।
फागुपूर्णिमालाई  होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गर्नुभएको छ ।
“फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ–  यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,” फेसबुकमा प्रधानमन्त्रीले  लेख्नुभएको छ, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !”
–––
Share Now