काठमाडौं, १ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा मन्त्री पौडेलका साथै अर्थविद् डा. विश्व पौडेल र नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई रहनुभएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।
समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते सकिँदै छ ।


















