Prakash Adhikari April 4, 2025

काठमाडौँ, २१ चैतः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएपछि पुनःबहालीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशहरू डा कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले उक्त विवादमा उठाएको विषयवस्तुको गाम्भीर्यतालाई ध्यानमा राखेर प्राथमिकताका साथ सुनुवाइका लागि अग्राधिकार समेत दिएको छ ।

आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तुको गाम्भिर्यता समेतलाई विचार गर्दा चाँडो निरुपण हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत रिट निवेदनमा लिखित जवाफ परे वा पर्ने अवधि व्यतित भएको १० (दश) दिनभित्र प्राथमिकता क्रममा पर्ने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ को उपनियम (१( बमोजिम अग्राधिकार दिई पूर्ण सुनुवाईका लागि पेसी तोक्नु ।”

अदालतमा तीनदिनको निरन्तर सुनुवाइपछि बिहिवार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै शीर्घ सुनुवाइका गर्ने आदेश दिएको छ ।

पत्रकार सम्मेलनमा कुलमान

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा तत्काल फर्किने बाटो लगभग सकिएपछि बर्खास्तीमा परेका कुलमान घिसिङले आफ्ना कुरा पत्रकार सम्मेलन गरेर सार्जजनिक गर्नुभएको छ।

उहाँले राजधानीमा एक पत्रकार सम्मेलन गर्दै एउटा मन्त्रीको गलत निर्णयले क्षणभरमा नै संस्था लथालिंग हुन सक्ने देखिएको बताउनुभयो ।

उहाँले त्यसका लागि सबैले खबरदारी गर्न अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।

आफुले प्राधिकरणमा रहेका गरेका उपलब्धी आफ्नो मात्रै मेहनतले नभएर सबै कर्मचारी, सरकारी निकायको साथ र सहयोगबाट भएको उहाँले बताउनुभयो ।

घिसिङले राज्य दिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ पूरा गर्दा केही स्वार्थी समूहबाट आफ्नो मान प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी प्रहार भएको उल्लेख गर्नुभयो ।

उहाले आफूलाई कमजोर बनाउन आगामी दिनमासमेत सोही किसिमका प्रहार हुनेमा आफू सतर्क र सजग रहेको बताउनुभयो ।

घिसिङले डेडिकेटेड ट्रंक लाइनको विद्युत महशुल उठाउने निर्णय गरेर आफूले प्राधिकरण र राष्ट्रप्रति घात नगरेको पनि उल्लेख गर्नुभयो। उहाले आफूले कानून कार्यान्वयन गर्न खोजेको बताउनुभयो ।

प्राधिकरणको निर्णय चित्त नबुझे विद्यु्त निमयन आयोग जानु पर्नेमा उद्योगी बिचौलीयाको पछि लागेको उहाँको दाबी छ ।

जतालागे पनि उद्योगीले तिर्नुपर्ने दायित्व कायमै रहने उहाँले दाबी गर्नुभयो ।

लोडसेडिङ हटाउँदा ३० लाख नेपाली विद्यार्थीले पढ्न पाएको, प्रसुती गृहका हजारौं बिरामीको सहजै उपचार हुनु आफ्नो जीवनकालको ठूलो उपलब्धी भएको घिसिङको भनाइ छ ।

‘जनताको घर घरमा विद्युत पुर्याउनु मेरो कार्यकालको ठूलो उपलब्धी हो । यो अवधिमा सिमान्तकृत, न्यून आय हुनेलाई निस्शुल्क मिटर दिइएको छ,’ उहाँले भन्नुभयो ।

घिसिङले आफू चेपाङ समूदायमा बत्ती बाल्न खटिएको समयमा हतोत्सही र दुरासयका साथ पदबाट हटाएको दाबी पनि गर्नुभयो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भएपनि नेपाली जनताले आफूलाई आशिर्वाद दिएको बताउनुभयो ।

जनताको मनबाट नहटेको दाबी

आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उहाँको भनाइ छ ।

कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उहाँको कथन छ ।

एक राष्ट्रसेवक कर्मचारीका पक्षमा संसदको रोष्ट्रममा समेत आवाज उठेकोले जनताले समेत आफूले गरेको कामको मूल्याड.कन गरिरहेकोे उहाँले बताउनुभयो ।

Share Now