Prakash Adhikari April 7, 2025

काठमाडौं, २५ चैत्र । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आरम्भ भएको विद्यालय शिक्षक तथा कर्मचारीको आन्दोलनमा राजनीतिक समर्थन र ऐक्यवद्धता बढ्दै गएको छ ।

शिक्षक र कर्मचारीका जायज माग पूरा गर्नका लागि सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् सांसद डा.शेखर कोइरालाले पनि सरकारसंग आग्रह गर्नुभएको छ । उहाँले शिक्षकका मागप्रति समर्थन जनाउदै आफ्नो सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।ू

माओवादी अध्यक्ष प्रचण्डको पनि समर्थन

शिक्षकहरुका जायज मागप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पनि समर्थन जनाएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।

आइतबार राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले शिक्षकहरुका माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पूरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेको हो ।

“यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यबद्धता जनाउन चाहन्छ”, पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा यही चैत्र २० गतेदेखि देशभरिका शिक्षक र विद्यालयका कर्मचारीले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौँको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

Share Now