अहमदाबाद(गुजरात, भारत), २८ चैत्र(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आईपीएल ) अन्तरगत बुधबार राति भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।
यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ।
आजको खेलमा गुजरातले दिएको २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा १ सय ५९ रन बनाउदै अल आउट भयो ।
राजस्थानले १२ रन जोड्दा पहिलो २ विकेट गुमायो। यशस्वी जैसवाल ६ रनमा र नितिश राना मात्र १ रनमा आउट भए। निरन्तर अन्तरालमा विकेट झर्दा राजस्थान दबाबमा पर्यो।
राजस्थानको लागि सिम्रन हेटमेरले ३२ बलबाट सर्वाधिक ५२ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।
राजस्थानलाई रोक्ने क्रममा गुजरातका प्रसिद्ध कृष्णाले ४ ओभर बलिङ गर्दै मात्र २४ रन दिएर ३ विकेट लिए। रसिद खान र साई किशोरले समान २ विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो।
ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर साई सुदर्शन र जस बटलरले दोस्रो विकेटको लागि ८० रनको साझेदारी गरे। बटलर ३६ रनमा आउट भए।
त्यसपछि साहरुख खानले पनि साई सुदर्शनसँग तेस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। साहरुख पनि ३६ रनना आउट भए।
क्रिजमा टिकेका साईले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दो अर्धशतक बनाए। उनी १९ औं ओभरको दोस्रो बलमा कुल ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन जोडेर आउट भए। उनले ५२ बल खेले।
राहुल टेवाटिया अविजित २४ रनमा रहे। उनले १२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे।
गुजरातलाई रोक्ने क्रममा राजस्थानकातुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ । २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १ । १ विकेट लिए।
गुजरात टाइटन्सको यो चौथो जित हो। उसले ५ खेलबाट ८ अंक बनाएको छ। ६ अंक बनाएको दिल्ली दोस्रो स्थानमा पुगेको छ। दिल्लीले मात्र ३ खेल खेलेको छ।
राजस्थानको यो तेस्रो हार हो। ५ खेलबाट ४ अंक बनाएको राजस्थान सातौं स्थानमा छ।


















