Prakash Adhikari April 12, 2025

 

काठमाडौं, ३० चैत्र । म्यानमारमा भूकम्प प्रभावित घाइतेहरूको उपचारमा खटिएको नेपाली सेनाको १६ सदस्यीय चिकित्सकीय टोली नेपाल फर्किएको छ ।

नेपाली सेनाको मेडिकल टोली चैत्र २९ गते शुक्रवार स्वदेश फिर्ता भएको हो । म्यानमारको यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी खटिएको टोलीले शल्यक्रिया, हाड जोर्नी तथा ओपीडी लगायतका सेवा प्रदान गरेको थियो ।

नेपाली सेनाको मेडिकल टिमले म्यानमारको मन्डले क्षेत्रअन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार दिएको थियो ।

मित्रराष्ट्र म्यानमारमा चैत्र १५ गते शुक्रवार गएको विनाशकारी भूकम्पपश्चात् सरकारको निर्णय अनुसार नेपाली सेनाको २२ सदस्यीय मेडिकल टोली औषधी, चिकित्सकीय उपकरणसहित चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

नेपाली सेनाका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टोली, चार जना बन्दोबस्ती सहायता टोली, ६ जना चालक दलका सदस्यसहित सेनाको सीएन–२३५ कासा विमानमार्फत म्यानमार गएको थियो ।

 

टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न थिए ।

म्यानमारको दोस्रो ठूलो शहर मण्डले निकट केन्द्रबिन्दु भएर चैत्र १५ गते गएको ७.७ म्याग्निच्युडको भूकम्पले त्यहाँको सागाइड. क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुले सो भूकम्पका कारण म्यानमारामा ५ हजार ३ सय ५० जना, थाईल्याण्डामा ३६ जना र भियतनाममा एक जनाको मृत्यु भएको जनाएका छन् । भूकम्पमा परेर ७ हजार ८ सय ६० जना घाइते भएका छन् । सर्यौ जना हराइरहेका छन् । थाइल्याण्डमा समेत निर्माणाधीन भवन भत्किदा त्यहा परेर केही कामदारहरु हराइरहेका छन् ।

Share Now