Prakash Adhikari April 14, 2025

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले नव वर्ष २०८२ को अवसरमा देश र विदेशमा रहनुभएका समस्त नेपालीलाई शुभकामना दिनुभएको छ ।

उहाँहरुले नयाँ बर्ष सबै नेपालीको लागि सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको वर्ष हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताउनुभएको छ ।

नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न उहाँले आग्रह गर्नुभएको छ । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।

शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उहाँले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।

“हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौँ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।”

राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभएको छ । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गर्न आग्रह गर्नुभएको छ ।

“आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउनुपर्ने छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नयाँ वर्ष, २०८२ उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात गर्दै अगाडि बढ्पर्नेमा जोड दिनुभएको हो । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानूनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न सम्बन्धित निकायलाई प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले उत्प्रेरित गर्न सकोस् भन्ने कामनाका साथ नव वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले मुलुकमा वर्षाँैदेखि अक्षुण्ण रहेका विविधता र एकतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प र प्रण लिने अवसरका रुपमा उपयोग गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

नव वर्षको महत्व व्यक्तिगत स्तरमा मात्रै सीमित नभई यसको सामाजिक, सांस्कृतिक र आर्थिक महत्व उत्तिकै रहेको बताउँदै उहाँले जीवनमा नयाँ प्रेरणा प्रदान गर्दै आफ्ना वरपर सकारात्मकताको भाव फैलाउने अवसरका रुपमा आत्मसात गर्न आवश्यकता औँल्याउनुभएको छ ।

“नव वर्षको स्वागत अत्यन्तै हर्षोल्लास र परम्परागत रुपमा गरिनुले हामीलाई आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित गर्दै पिंढीदर पिंढी हाम्रा रैथाने संस्कृति र परम्पराको रुपान्तरणमा पनि सघाउँदछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ । यस अवसरमा लिइने संकल्पले जीवनमा अनुशासन र स्थिरता कायम राख्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले हरेक व्यक्तिले आफन्तजन, परिवारजन, शुभचिन्तक र ईष्टमित्रको राम्रो स्वास्थ्य, दीर्घायु र सुखद् भविष्यको कामना गर्दै नव वर्षलाई उत्सवका रुपमा मनाइनुले परिवार र समुदायगत रुपमा अपनत्वभावलाई जीवन्त राख्दै एकीकृत समाजलाई अक्षुण्ण राख्न टेवा पुग्ने बताउनुभएको छ ।

“यस अवसरमा हामीले नेपालको आर्थिक उन्नयन, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा द्रूत प्रगतिका लागि एकजूट भई अघि बढ्ने प्रयासमा जुट्ने दृढ संकल्पित र प्रतिबद्ध हुन जरुरी छm, नैतिकता, ईमानदारी र परिश्रमका साथ देशको समृद्धि र विकासमा अग्रसर हुन सम्पूर्ण सबैलाई नव वर्षले थप हौसला प्रदान गरोस्”, उहाँले भन्नुभएको छ ।

Share Now