जयपुर(राजस्थान, भारत), ७ वैशाख । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। शनिवार राति भएको खेलमा राजस्थान रोयल्सलाई २ रनले हराउँदै लखनउले पाँचौ जित निकालेको हो।
राजस्थानको जयपुर क्रिकेट मैदानमा भएको खेलमा जितको लागि १ सय ८१ रनको लक्ष्य पाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो।
राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरले पराजित हुन पुग्यो । राजस्थानका लागि ओपनर यशस्वी जयसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गरे। वैभव ३४ रनमा आउट भए। लगतै आएका नितिश राना ८ रनमा आउट भए।
यशस्वी भने क्रिजमा टिके। उनले अर्धशतक बनाए। ५२ बल खेल्दै ५ चौका र ४ छक्का सहित ७४ रनको पारी खेले। १ सय ५६ रन जोड्दा राजस्थानले ३ विकेट गुमाएको थियो। कप्तान रायन परागले ३९ रन जोडे।
अन्तिम ६ बलमा जितको लागि ९ रन बनाउनु पर्ने थियो। ध्रुव जुरेलले पहिलो बलमा १ रन जोडे। यसपछि बलमा समस्या देखिएपछि बल परिवर्तन गरियो।
दोस्रो बलमा सिम्रन हेटमेरले २ रन जोडे। तर तेस्रो बलमा हेटमेर १२ रनमा आउट भएपछि राजस्थान दबाबमा आयो।
शुभम दुबेले चौथो बल डट खेले। उनले नै पाँचौं बलमा २ रन जोडेपछि अन्तिम बलमा जितको लागि चौका जरुरी थियो। तर दुबेले आभेष खानको बलमा १ रन मात्र लिन सके। यो सँगै लखनउले २ रनको रोमाञ्चक जित हात पार्यो।
राजस्थानलाई रोक्ने क्रममा लखनऊका आभेष खानले सर्वाधिक ३ विकेट लिए। सार्दुल ठाकुर र एडन मार्कमले १ । १ विकेट ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो। लखनऊका एडन मारक्रम र आयुष बाडोनीले अर्धशतक बनाए ।
मारक्रमले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । आयुषले ३४ बलमा ५ चौका र १ छक्का साथ ५० रन जोडे।
अब्दुल सामदले १० बलमा ४ छक्कासहित नटआउट ३० रन बनाए । निकोलस पुरनले ११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लखनऊलाई रोक्ने क्रममा वानिन्डु हसरंगाले २ , जोफ्रा आर्चर, सन्दीप शर्मा, तुसार देशपाण्डेले समान १ । १ विकेट लिए।
जितमा १० अंक बनाएको लखनऊ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। राजस्थानको यो छैटौं हार हो। राजस्थान ४ अंकसहित लिगको आठौं स्थानमा रहेको छ।


















