Prakash Adhikari April 20, 2025

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन खोजिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी आज (आइतबार) हुनेभएको छ ।

शुक्रबार अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबी गर्दै रिट दायर गर्नुभएको थियो । रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय र स्वयम् डा. गुणाकर भट्ट समेतलाई विपक्षी बनाइएको छ ।

भट्टविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा राष्ट्र बैंक ऐन अनुरुप उहाँको योग्यता नपुग्नै भन्दै विपक्षी सिफारिस समितिलाई उहाँलाई सिफारिस गर्नेलगायत अन्य कुनै पनि काम नगर्न नगराउन आदेशको माग गरिएको उल्लेख छ ।

प्रमुख सत्ता साझेदार दलहरू नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीबीच भट्टलाई गभर्नर बनाउने सहमति भएको अपुष्ट समाचार बाहिरिएसंगै उहाँलाई गभर्नरमा रोक्ने शक्तिहरु पनि सल्बलाएका छन् ।

गभर्नरमा आउने संभावना बलियो भएपछि कार्यकारी निर्देशक भट्टले शुक्रबार पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा प्रक्रियामा नै रहेको र हालसम्म स्वीकृत भईनसकेको बताइएको छ। गभर्नरमा नियुक्त हुने संभावना देखेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा दिनुभएको थियो। उहाँको राजीनामा पनि हालसम्म स्वीकृत भएको छैन ।

 

Share Now