भक्तपुर, ९ वैशाख ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उहाँले बताउनुभयो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधकिारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको नियन्त्रक शर्माले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ ।
बोर्डको आजको बैठकले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहयोग गर्न आह्वान गरेको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ ।
सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
नेपाल शिक्षक महासङ्घले कुनै पनि हालतमा कक्षा १२ को परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ ।
महासङ्घले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई अनुरोध गरेको हो ।
वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा हुदैछ । परीक्षा हुने केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षाको प्रकियामा सामेल हुन दबाब आएको महसंघको भनाइ छ ।
विगत २१ दिन देखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन भइरहेको बेला उक्त परीक्षामा सामेल नहुन भनेको हो । केन्द्राध्यक्षलाई समेत काठमाडौँमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ ।



















