लखनउ(, उत्तर प्रदेश ,भारत), १० वैशाख (एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत मंगलबार राति भएको ४० औं खेल मा दिल्ली क्यापिटल्स छैटौं जित हासिल गरेको छ ।
दिल्लीले मंगलबारको खेलमा लखनऊ सुपर जायन्ट्समाथि ८ विकेटको जित निकालेको हो।
जितको लागि १ सय ६० रनको चुनौती पाएको दिल्लीले १७ ओभर ५ बलमा २ विकेटको क्षतिमा सो लक्ष्य हासिल गरेको हो ।
खेलमा ओपनर करूण नायर १५ रनमा आउट भए । तर दोस्रो विकेटको लागि अभिषेक पोरेल र के एल राहुलले ६९ रनको साझेदारी गरे । पोरेलले ३६ बल खेल्दै ५१ रन जोडे ।
यसपछि केएल राहुल र कप्तान अक्षर पटेलले दिल्लीलाई जिततर्फ डोर्याए । केएल राहुलले ४२ बल खेल्दै ३ चौका र ३ छक्का सहित अविजित ५७ रनको महत्वपूर्ण पारी खेले । २० बल खेलेका अक्षर अविजित ३४ रनमा रहे ।
दिल्लीलाई रोक्ने क्रममा लखनऊका बलिङमा एडन मारक्रमले दुई विकेट लिए । अन्य बलरले विकेट लिन सकेनन् ।
यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो । सुरूवात राम्रो गरेपनि लखनउका मध्यक्रमका खेलाडीको प्रदर्शन कमजोर रह्यो ।
एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे । सन्तोषजनक सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेमा बिना कुनै विकेटको नोक्सानी बेगर ५१ रन बनाएको थियो । अर्धशतक बनाएका एडन ३३ बल खेल्दै ५२ रन बनाएर आउट भए । उनले २ चौका र ३ छक्का प्रहार गरे। लखनउको लागि यो नै सर्वाधिक उच्च स्कोर बन्यो ।
लगतै निकोलस पुरन ९ र अब्दुल सामद २ रनमा नै आउट भए । ओपनर मिचेल मार्स भने ४५ रनमा आउट हुन पुगे । यसपछि आयुष बाडोनी ३६ रन जोडेर पबिलियन फर्कदा डेविड मिल्लर अविजित १४ रनमा रहे।
लखनऊलाई रोक्ने क्रममा दिल्लीका मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
दोस्रो स्थानमा रहेको दिल्ली छैटौं जितका साथ शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले जतिकै १२ अंक बनाएको छ । रन रेटमा दिल्ली दोस्रो स्थानमा कायमै रहेको छ । लखनउको भने नवौं खेलमा यो चौथो हार हो। उसले पाँच खेलमा जित निकाल्दै १० अंक सहित पाँचौं स्थान सुरक्षित गरेको छ ।


















